काठमाडौं– ४१७ मेगावाट क्षमताको नलसिंहगाढ जलविद्युत् परियोजना अघि बढाउने विषयमा जापानी राजदूत मासामिची साइगोबीच र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’बीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको सो परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्त्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरेका थिए । उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलगाडसम्म जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
मन्त्री पुनले जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले लगानीको लागि जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे ।
भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पीपीपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिंदै सो क्रममा दुई देशको सम्बन्धका साथै ऊर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।
जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफूले अपिल गर्ने बताए ।
राजदूत साइगाले भारत र बङगलादेशसंग सहमति भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चांसो व्यक्त गरेका थिए । जवाफमा मन्त्री पुनले भारतसँग क्रस बोर्डर ट्रेडको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको बिजुली भारतमा निर्यात भएको जानकारी दिए ।
उनले बङगलादेशसँग पनि डेडिकेटेट लाइन र भारत हुंदै बङगलादेशसँग पनि विद्युत् व्यापार गर्ने विषयमा सहमति भएको भन्दै लगानीको लागि वातावरण बनाईदिन आग्रह गरे ।
नलसिंङगाड परियोजना पीपीपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न ऊर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ । जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसँग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ ।