काठमाडौं । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो “औद्योगिक अवस्थिति प्रतिवेदन” सार्वजनिक गरेको छ । परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक गरेका हुन् ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।
प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष ०७६/०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ ले बढेको देखाएको छ । तर, त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक थियो । प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड १९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको छ ।
अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औषतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औषतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औषतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औषतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पुँजीको ६६.१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।
अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगहरुले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुत गर्ने बताए । यसैगरी निजी क्षेत्रबाट आउने यस्ता प्रतिवेदनले निजी क्षेत्रले कसरी काम गरिरहेको छ भन्ने जानकारी सरकारलाई दिने उल्लेख गरे ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यस प्रतिवेदन निजी क्षेत्रले थिंकट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने देखाउने बताए । उनले परिसंघको तर्फबाट सुझाव मात्रै दिने नभइ उद्योगको यथार्थ चित्रण समेत प्रस्तुत गर्न खोजेको उल्लेख गरे । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले औद्योगीकरणका लागि सरकारसँग हातेमालो गर्न परिसंघ सधैँ तयार रहेको उल्लेख गरे । उनले अहिले अर्थतन्त्रमा संकट देखिएको भन्दै त्यसलाई सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।
यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई परिसंघले हरेक त्रैमासमा निरन्तर प्रकाशन गर्ने बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ ।
नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा परिसंघले पहिलोपटक यस्तो प्रतिवेदन तयार गरेको हो । परिसंघ अन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार गरेको छ ।
यस प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति तर्जुमाका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । यसैगरी प्रतिवेदनले उद्योग क्षेत्रको बदलिँदो अवस्थाको जानकारी पनि दिएको छ । उद्योगसँग चासो सम्पूर्ण सरोकारवालाका लागि यस प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने परिसंघको विश्वास छ ।