वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यावसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् । उनले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउन सरकारलाई सुझाए ।
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोस्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्रमैत्री नरहेको दावीसमेत गरेका छन् । ढकालले भने ‘सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ ।’
पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौँ कन्टेनर बोर्डरमा अलपत्र परेका ढकालले बताए । सरकारले निजी क्षेत्रसँग जोडिएका कुनै पनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श गर्न पनि सरकारलाई आग्रह गरे । उनले भने ‘सरकारले बनाउने नीतिले दीर्घकालीन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्छ, जसले देशको उद्योग व्यवसाय फस्टाउन सकोस् र निजी क्षेत्रको पनि हित गर्न सकोस ।’
सरकारले गर्नुपर्ने काममा समेत निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वमार्फत् योगदान गरिरहेकाले सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने ढकालको भनाई रहेको थियो । ‘हरेक उद्योगी व्यवसायीले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सरकारले गर्नुपर्ने काममा सघाइरहेका छन् । तर, सरकारले भने यस क्षेत्रलाई प्रोत्साहनको सट्टा हतोत्साही बनाउने मात्र गरेको गुनासो देशव्यापी रुपमा व्यवसायीहरुको रहेको छ’ उनले भने ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने ढकालले बताए । मुलुकको कुल राजश्वमा महत्वपूर्ण योगदान पुर्याउने भए पनि वीरगञ्ज–पथलैया करिडोरका उद्योगका लागि आवश्यक सडक, ढल जस्ता न्यूनतम पूर्वाधारको विकासमा पनि राज्यले ध्यान नपु¥याउनु दुःखद रहेको ढकालले बताए ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले सरकारले वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता नदिँदा स्थानीयबासी र उद्योगीबीच सधैँ विवाद हुने गरेको बताए । उनले सरकारले औद्योगिक क्षेत्र र बसोबास क्षेत्र छुट्टयाइदिनुपर्नेमा त्यसो हुन सकेको गुनासो गरे ।
मुलुकको राजश्व र रोजगारीमा यहाँका उद्योगले पुर्याएको योगदानालाई सरकारले कदर नगरेको लाठको भनाइ थियो । आजबाट सुरु भएको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतःअध्यक्ष हुनेछन् भने बरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रकृया सुरु भएको जानकारी दिइएको छ ।