विराटनगर । प्रदेश नं १ को औद्योगिक क्षेत्र मोरङ, सुनसरी र झापामा विगत २४ घण्टादेखि विद्युत अबरुद्ध छ । यसले उद्योगीहरू समस्यामा परेका छन् । तर, लगातार विद्युत आपूर्ति ठप्प हुँदासमेत विद्युत प्राधिकरण संवेदनशील नभएको प्रदेश नं १ उद्योग परिसंघले जनाएको छ ।
नेपालमा ऊर्जाको क्षेत्रमा खासगरी विद्युत प्रणालीमा धेरै सुधार भइरहेको छ । तर, पनि विद्युत आपूर्ति र वितरण प्रणालीमा दूरदर्शिता एवं दीर्घकालीन सोच नपुगेकाले सानो प्राकृतिक प्रकोपमा ठूलो नोक्सानी हुन पुगेको जनाइएको छ ।
अविरल वर्षाका कारण सुनसरीको दुहबीस्थित सबस्टेसन डुबानमा परेपछि प्रदेश नं १ का १४ वटै जिल्लामा विद्युत आपूर्ति बन्द छ । जसका कारण उद्योगहरूले करोडौंको क्षति ब्यहोर्नु परेको र सर्वसाधारणलेसमेत सास्ती पाएको भन्दै प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
२४ घण्टा बितिसक्दा पनि विद्युत आपूर्तिका लागि वैकल्पिक क्षमताको बिस्तार हुन सकेको छैन । ‘जसले औद्योगिक कच्चा पदार्थमा भएको क्षति, मेसिनरीहरूमा हुन जाने र भएका क्षतिको असर उत्पादनमा पर्ने र लागतसमेत बढ्नेछ,’ पत्रमा भनिएको छ, ‘त्यसैले तुरुन्तै विद्युत आपूर्ति सुचारु गर्न माग गरिन्छ ।’
प्रदेश नं १ का परिसंघले यसअघि नै नेपाल विद्युत प्राधिकरण प्रदेश नं १ को कार्यालयमा प्रादेशिक प्रमुख र मोरङ झापा सुनसरीका सबै शाखा प्रमुखहरूसँग छलफल गरी दुहबी, टंकी, कटहरी, रानीका ग्रिडस्टेसन दुरुस्त र चुस्त राख्न माग गरेको थियो ।
बिगत २४ घण्टादेखि मुलुककै प्रमुख औद्योगिक क्षेत्र तथा प्रदेशको राजधानीजस्तो संवेदनशील क्षेत्रमा अरु थप औद्योगिक आर्थिक तथा आमनागरिकहरूको जनजीवनमा समेत हानी हुन नदिन तुरुन्तै विद्युत आपूर्ति सुचारु गर्न विद्युत प्राधिकरणलाई परिसंघले अनुरोध गरेको छ ।
विद्युत प्राधिकरण विराटनगर तथा दुहबी वितरण केन्द्रले पानी नपरेमा भोलि साँझसम्म मात्र विद्युत आपूर्ति हुन सक्ने बताएका छन् ।