काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कार्यसमिति सदस्य तथा सुन, चाँदी, रत्न, आभूषण, खानी तथा भूगर्व समितिका सभापति रमेश महर्जनको निधनमा शोकसभाको अायोजना गरेको छ । कात्तिक १ गते निधन भएका महर्जनको शोकमा चेम्बर भवन कान्तिपथमा शोकसभा आयोजना गरिएको हो ।
कार्यक्रममा स्वर्गीय रमेश महर्जनको तस्बिरमा श्रद्धासुमन अर्पण गरी एक मिनेट मौन धारण गरिएको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरसँग आबद्ध रही रमेश महर्जनले व्यवसायीको हकहितका लागि लामो समयदेखि सक्रिय भई काम गर्दै आएको बताएका छन् ।
साथै एक्स्पोर्ट हाउसको अवधारणा कार्यान्वयन गरी निर्यात प्रबद्र्धनलाई सरलीकृत गर्ने, निर्यातलाई प्रोत्साहन गर्ने चेम्बरको अभियानमा महर्जन अग्रपंक्तिमा रहने गरेको अध्यक्ष मल्लको भनाइ छ ।
त्यसैगरी चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले समाजसेवी तथा व्यवसायी रमेश महर्जनको असामयिक निधनले निजी क्षेत्रका व्यावसायिक संगठनहरुले मात्र नभई राष्ट्रले एक कुशल व्यक्तित्व गुमाएको बताएका छन् । उनले व्यावसायिक हकहितका लागि तयार गरेका योजना तथा नीतिहरुलाई अब उनी पछिका नेतृत्वकर्ताहरुले कार्यान्वयन गर्नुपर्नेमा श्रेष्ठले जोड दिएका छन् ।
कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, पूर्ववरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, उपाध्यक्षहरु क्रमशः दीपककुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर, पूर्वउपाध्यक्षहरु महेन्द्रमान श्रेष्ठ, नरेश श्रेष्ठ, कार्यसमिति सदस्यहरु, सुन, चाँदी, रत्न, आभूषण, खानी तथा भूगर्व समितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो ।