वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ । वालिङ नपाभित्र झण्डै आठ किलोमिटर लम्बाई रहेको आँधीखोलाको दायाँबायाँ दुवैतर्फबाट करिडोर निर्माण थालेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
“वालिङमा जनसङ्ख्या तथा सवारीसाधनको चाप दिनानुदिन बढ्दै गएकाले सिद्धार्थ राजमार्ग तथा अन्य भित्री सडकको विकल्पका रूपमा ‘आँधीखोला करिडोर’ लाई विकसित गरेका हौँ” उनले भने, “नगरभित्र झण्डै आठ किलोमिटर आँधीखोलाको लम्बाइ रहेकाले दायाँबायाँ गरी झण्डै १६ किलोमिटर सडक निर्माण गर्छौँ ।”
आँधीखोला करिडोरलाई वालिङ नगरपालिकाको गौरवको योजनाको रूपमा अगाडि बढाइएको नगरप्रमुख खाँणले बताए । झण्डै १६ किलोमिटर लम्बाइ रहने ‘आँधीखोला करिडोर’ को चौडाइ भने सात मिटर कायम गरिएको छ ।
“वर्षेनी आँधीखोलाले दायाँबायाँका जमीन कटान गरेर लैजाने क्रम बढेकाले पनि जमीनको संरक्षण गर्न कठिनाइ थियो” नगरप्रमुख खाँणले भने, “नगरपालिकाले तटबन्ध तथा पर्खाल उठाएर सडक निर्माण गरेसँगै खोला किनारका जमीनहरु संरक्षण हुनेछ ।”
वैकल्पिक मार्गको रूपमा विकसित गरिएको करिडोरले पर्यावरणीय संरक्षण साथै हरियाली, साइकल तथा पदमार्ग निर्माणसँगै समग्रमा वालिङको सौन्दर्यकरणको उद्देश्य राखिएकाे छ ।
“उत्तरमा भिरकोट नगरपालिकाको सिमानादेखि दक्षिणमा गल्याङ नगरपालिकाको सिमानासम्म वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्छौँ, जसको थालनी पनि गरिसकेका छौँ” नगरप्रमुख खाँणले भने, “आगामी तीन वर्षभित्रमा करीब १५ करोडको लागतमा निर्माण सक्ने गरी कामलाई तीव्रता दिएका छौँ ।”
करिडोरलाई वालिङ नगरपालिकासहित विभिन्न सङ्घसंस्था तथा निकायसँगको सहयोगमा पूर्णता दिने नगरपालिकाले जनाएकाे छ । नगरपालिकाले सिद्धार्थ राजमार्ग चौडा बनाउने क्रममा खनेको माटो तथा ढुङ्गा खोलाको किनारमा व्यवस्थापन गर्नुका साथै खोलाजन्य सामग्रीहरु पनि करिडोर निर्माणमा प्रयोग गरिएको छ ।
खोलाको बहावलाई मध्यनजर गरी कम्तीमा ८५/९० मिटर चौडाइमा पानी बहने भाग छोडी दुवैतर्फ किनारमा जाली उठाएर निर्माण गरिएको छ । “वालिङ नगरपालिकाले आँधीखोलामा करिडोर बनाउने योजनाको शुरुआत गरेर हालसम्म दुवैतर्फ झण्डै छ/सात किलोमिटर सडक निर्माण भइसकेको छ”, नगरप्रमुख खाँणले भने, “आँधीखोलालाई बरदानको रूपमा लिएर अगाडि बढेका छौँ, अब छिट्टै ठाउँ–ठाउँमा ‘चेक ड्याम’हरु निर्माण गरी ताल बनाउने र डुङ्गा सञ्चालन तथा माछापालन गर्ने योजना छ ।”
शहरहरु समय क्रमसँगै विकास हुँदै गएका छन् तर अबको आवश्यकता भनेको शहरको सौन्दर्यकरण हो । त्यसैले यसतर्फ समयमै सचेत भई ‘ब्यूटिफिकेशन’ मा ध्यान दिनुपर्ने उनकाे भनाइ छ । रासस