काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार १० औं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् ।
‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने, ‘तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई/संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताए ।
मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउदैं त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे ।
उनले राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने जानकारी दिए । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउनुहुँदै उनले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिवद्धता समेत व्यक्त गरे । उनले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई/संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सरकार आफैँले छाप्ने प्रतिवद्धता गरे ।
यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए ।
यसैबीच आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको बताइएको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन ०७७÷७८ सार्वजनिक गर्दै विभागले आव ०७७/७८ मा ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको बताएको हो ।
यस्तै २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्त शुल्क राजस्व सङ्कलन भएको छ ।