काठमाडौं । पछिल्लो पटक नेपालमा समग्रमा घरजग्गाको मूल्य १६.३१ प्रतिशले बढेका पाइएको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा घरजग्गाको मूल्य १६.३१ प्रतिशतले बढेको देखिएको हो ।
तर, मालपोत कार्यालयको तथ्यांकका आधारमा भने १२.५७ प्रतिशत मात्रै मूल्य बढेको छ । जुन अघिल्लो वर्ष १९.७३ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ मा २६.४५ प्रतिशत मूल्यवृद्धि भएको थियो ।
कोरोना कहरका बीचमा गत वर्ष घरजग्गा कारोबारमा आएको सुस्ततासँगै मूल्य वृद्धिमा समेत कमी देखिएको छ । केन्द्रीय बैंकले सातवटै प्रदेशका २० वटा जिल्लामा गरेको अध्ययनअनुसार गण्डकीमा सबैभन्दा बढी जग्गाको मूल्यवृद्धि देखिएको छ ।
गण्डकीको जग्गाको मूल्य १९.१९, कर्णाली १९.०२, बागमती १८.२६, सुदूरपश्चिम १६.३२, प्रदेश दुई, १६.०२, प्रदेश एक १५.१४ र लुम्बिनी प्रदेशमा ४.२३ प्रतिशतले जग्गाको मूल्यवृद्धि देखिएको हो ।
वित्तीय क्षेत्र विकास रणनीति (२०७४–२०७७/७८) मा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रुपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो ।
छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुईवटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ ।
नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुईवटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेसन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको छ ।
घरजग्गा मूल्य सूचकांक निर्माणका लागि भारांक निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेसनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । जिल्लागत, प्रदेशगत एवम् राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ । राष्ट्रियस्तरमा जग्गा मात्रको भारांक ७६.६७ प्रतिशत र घरजग्गाको भारांक २३.३३ प्रतिशत रहेको पाइएको छ ।
मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमुनाका रुपमा लिइएको थियो ।
यसैगरी, वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमुनाका रुपमा लिइएको थियो ।
घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रयमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको छ ।