देशकै प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समिति (सरकारीद्वारा गठित) मा चालू आव २०७८ को असारमसान्तसम्म ३ करोड २७ लाख ३० हजार ७ सय ५८ रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति (समुदायस्तरमा गठित) मा ३ करोड ३३ लाख ३५ हजार २ सय ७ रुपैयाँ छ ।
सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल ८ करोड संकलित रकम बैंक मौज्दात छ । बैंक मौज्दात रकम तीर्थयात्रीले चढाएको सिक्का पैसा र गरगहनाबाहेक नगद मात्रको विवरण हो ।
यसैबीच पाथीभरा क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार चालू आव २०७८/७९ अन्तर्गत साउनदेखि कात्तिक १५ गतेसम्म संकलन भएको ३८ लाख १२ हजार ५ सय नगद र सिक्का सटहीबाट ८ लाख ६६ हजार रुपैयाँ पनि बैंकमा जम्मा गरेको छ ।
विगत वर्षदेखि नै संकलन भएको भेटीघाटी तथा सुनचाँदी बिक्री गरेर बैंकमा राखिएको रकममा बर्सेनि संकलन गरेको भेटीघाटी राख्ने गरेकाले बर्सेनि बैंक मौज्दात रकम थपिँदै गएको हो । यसैगरी २०७७ भदौ १८ गतेसम्म भक्तजनले चढाएको रिफाइन नगरेको १४ तोला ५७ लाल सुन र २ नम्बरको १४ तोला ४६ लाल सुन लिलाम विक्री गरेर बैंक जम्मा गरेको छ ।
सो सुन लिलाम बिक्री गरेबापत ५७ लाख ७४ हजार ६ सय रुपैयाँ संकलन भएको हो । सुनको तयारी गहना ३ तोला ८७ लाल र चाँदी २४ सय ९४ तोला ८९ लाल बिक्री गर्न बाँकी छ ।
आव २०७३/७४ देखि मात्र सरकारद्वारा गठित पाथीभरा क्षेत्र विकास समितिले भेटीघाटी संकलन तथा परिचालन सुरु गरेको हो । आव २०७३/७४ अगाडि समुदाय स्तरमा गठित समितिले भेटीघाटी संकलन, परिचालन तथा पाथीभरा क्षेत्रका विकासमा काम गर्ने गर्दै आएको थियो ।
समुदाय स्तरमा गठित समितिको स्थापना २०४७ भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भए तापनि २०४४ सालदेखि नै पाथीभराको विकासमा काम सुरु गरेको थियो । समुदायस्तरबाट गठित समिति र सरकारद्वारा गठित समितिले पाथीभराको काममा तालमेल गर्ने गरेको छ ।
सुकेटारदेखि काफ्ले पार्टीसम्मका कच्ची सडक ममर्त, काफ्ले पार्टीदेखि धामसम्मको पैदलमार्ग स्तरोन्नति तथा सरसफाइका काम समुदायस्तरबाट गठित समितिले गर्ने गरेको छ । पाथीभराको आन्तरिक आम्दानीले पाथीभरामा खानेपानी पानी आयोजनाका लागि ४१ लाख रुपैयाँसमेत लगानी गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
तीबाहेक करारमा नियुक्त १६ जना कर्मचारी तलब, प्रहरी चौकीमा कार्यरत प्रहरीका लागि खाजा खर्च र विविध शीर्षकमा खर्च हुने गरेको छ ।
२०७६ साल चैतदेखि कोरोना संक्रमणका कारण यो अवधिमा पटक–पटक मन्दिर दर्शन प्रतिबन्ध गरेकाले भेटीघाटी कम संकलन भएको हो । कोरोना संक्रमण नभएको हुँदो हो त पाथीभरा बर्सेनि वढ्दो दर्शनार्थीका कारण भेटीघाटी संकलनमा वृद्धि हुनेमा शंका छैन ।
चालू आव २०७८/७९ मा संकलन हुने नगद, सिक्का र गरगहना आउँदो २०७९ सालको साउन वा भदौमा सार्वजनिक गर्ने समितिले जनाएको छ ।