काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७८/०७९ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।
बितेका चार महिनामा ८२ अर्ब १२ करोड १२ लाख रुपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्ष ०७७/०७८ को पहिलो चार महिनामा ४० अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो भने सोही अवधिमा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
व्यापार घाटा ५६८ अर्ब
चालु आवको चार महिनामा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ५६ दशमलव ८३ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।
यस्तै, चार महिनाले नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५ दशमलव ४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।
१३८ देशबाट आयात
चार महिनाको अवधिमा १३८ देशबाट छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट ३ खर्ब ८५ अर्ब ९५ करोड ७० लाख रुपैयाँ बढीको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।
चीनबाट एक महिनामा ९४ अर्ब ३० करोड १४ लाख रुपैयाँ बराबरको आयात भएको छ । यस्तै, एक महिनाको अवधिमा भारतमा ६६ अर्ब ९४ करोड ३९ लाख र चीनमा ३१ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
डिजेल धेरै आयात
चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको हो ।
यस्तै, भटमासको कच्चा तेल २७ अर्ब २२ करोड ७१ लाख, २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको मोबाइल, १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र१७ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको आइरन, स्टिल आयात भएको छ । रासस