काठमाडौं । दुई चरणको कोभिड महामारीपछि विश्वले खोप पायो । उक्त खोपबाट विश्व अर्थतन्त्र तंग्रिन खोजिरहेको थियो । तर, गत हप्ता दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेपछि यो अर्थतन्त्र पुनः खुम्चिएर जाने हो कि भन्ने डर बढेको छ ।
गत वर्षको सुरूवातदेखि विश्वभर नै आपूर्ति चेन अस्तव्यस्त छ । यसले सबै बन्दरगाह तथा ठूला कम्पनीमा संकट उत्पन्न गराइदिएको छ । खोपपछि अर्थतन्त्रले गति लिने अपेक्षा थियो । तर, नयाँ ओमिक्रोमले विश्व अर्थतन्त्रले अर्को नयाँ संकट भोग्नुपर्ने सम्भावनालाई बढाएको छ ।
‘पहिलेदेखि नै संकटग्रस्त आपूर्ति चेनको प्रतिरोधात्मक क्षमताको अर्को परिक्षा हो यो ओमिक्रोन भाइरस’ कियर्ने परामर्श कम्पनीका वरिष्ठ साझेदार पर होङ भन्छन् ।
विश्व स्वास्थ संगठनले यो नयाँ भेरियन्ट ‘चिन्ताको संकेत’ भएको बताएको छ । यो अझै वृहत् रुपमा फैलिने र थप जोखिम बन्न सक्ने सम्भावना रहेको बताएको छ ।
दक्षिण अफ्रिकापछि यो भेरियन्ट एक हप्तामा अन्य २४ मुलुकमा देखिएको छ ।
लकडाउनको प्रभाव
हङकङमा ओमिक्रोन भाइरस देखिए पनि चीनमा हालसम्म कुनै केस देखिएका छैनन् ।
‘चीनले आफ्नो जिरो कोभिड–नीतिलाई दुई गुना बढाएर लागू गर्ने सम्भावना छ । विगतमा पनि उसले वृहत् लकडाउन गरी, क्वारेन्टाइन, बन्दरगाह चेकजाँच, जहाज तथा कार्गो निरीक्षण गरी महामारी रोकथाम गरेको थियो’ पर होङको भनाइ छ ।
ओमिक्रोनको उत्पत्तिसँगै चीनले आफ्नो जिरो कोभिड नीतिलाई थप आक्रमक बनाउन सक्ने विश्लेषकहरु बताउँछन् ।
कोभिडका कारण एउटा मुलुकले निषेधाज्ञाको नीति अपनाउँदा त्यसको अप्रत्यक्ष प्रभाव अन्य मुलुकमा पनि पर्ने हामीले यसअघिका निषेधाज्ञामा देखिसकेका छौं ।
‘यदि यसपटक पनि त्यस्तै भयो भने यसले जहाजलाई मात्र रोक्दैन, हाम्रो मूख्य निर्माण तत्वमा पनि अभाव देखिने छ । साथै कोर विद्युतीय, अटोमोटिभ तथा उपभोग्य वस्तुको मागसूची लम्बिने छ । र, त्यो पूरा हुन निकै समय लाग्नेछ’ होङ भन्छन् ।
विश्वका सबैभन्दा धेरै व्यस्त १० बन्दरगाहमध्ये ७ बन्दरगाह चीनमै पर्ने वल्र्ड सिपिङ काउन्सिलको तथ्यांकले देखाउँछ । गत वर्षमा सांघाई पहिलो, निङबो झाउसान तेस्रो, सेन्झेन चौंथोमा र हङकङ आठौंमा पर्छ ।
त्यसो त डेल्टाको तुलनामा ओमिक्रोन कतिको खतरनाक छ भन्ने कुरा अझै पनि स्पष्ट नभइसकेको विश्व स्वास्थ संगठनले बताएको छ । धेरै कुराको सम्भावना र आंकलन भएको छ । तर, ओमिक्रोन वास्तविकता हो, र यसले पुनः विश्वको आपूर्ति चेनको परीक्षण लिन्छ भन्ने कुरामा दुई मत छैन ।
पुनरूत्थान भइरहेको क्षेत्रीय निर्यातमाथि ओमिक्रोनको झट्का
कोभिडका कारण आपूर्ति चेन अस्तव्यस्त हुँदा उत्पन्न भएको उर्जा संकटको असर चीन र युरोपमा देखियो । जसले सिपिङ उद्योगमा प्रभाव पार्यो ।
अवस्थामा बिस्तारै स्थिरता आउँदै थियो । एसियाली क्षेत्रमा निषेधाज्ञा खुकुलो हुँदै जाँदा श्रमिकहरु आआफ्नै कामधन्दामा फर्किन थालेका थिए । यसबीच कति उत्पादनका प्रक्रियाहरु अनलाइनमा आउन थाले । तर, लजिस्टिक्स प्रमुख चुनौतीको रुपमा रह्यो । जल तथा हवाई दुवैमा ।
२०२१ मा विश्वभरका आधाभन्दा कम जहाज मात्र समयमै आफ्नो गन्तव्यमा पुगे । जहाजको आगमनमा लगातार ढिलाइ हुँदा त्यसले डेलिभरी समयमा समेत हप्तौंभन्दा धेरै समय थप्न थाल्यो । एसिया क्षेत्रको मूख्य निर्यातकर्ता, दुई चरणको निषेधाज्ञामा थलिएर फेरि आफ्नो निर्यात हिस्सालाई पुनस्र्थापना गर्ने दौडमा थियो । महामारीका कारण दक्षिणपूर्वी एसियाका धेरै उद्योग बन्द भए । अन्तरनिर्भरताका कारण अमेरिकाका धेरै निर्माण तथा उत्पादनमुखी कम्पनीहरु समेत बन्द हुन पुगे ।
अहिले केही लयमा फर्किदै गएको क्षेत्रीय निर्यातलाई नयाँ भाइरसले ठूलो क्षति पुर्याउने देखिएको छ । अब अधिकांश मुलुकले कडा प्रतिबन्ध लगाउने देखिन्छ । यसको अन्तिम प्रभाव भनेको विश्व आपूर्ति चेनमा पर्ने निश्चित छ ।
यदि ओमिक्रोनले आपूर्ति चेनलाई असर गर्यो भयो एसियाको कूल गार्हस्थ उत्पादन १.६ प्रतिशतले झर्ने अक्सफोर्डका अर्थविद्हरुको आंकलन छ ।