काठमाडौं । ग्लोबल आइएमई बंैक, आरएण्डडी इनोभेटिभ सोलुसन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य, आरएण्डडी इनोभेटिभका (सीईओ) सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयरका निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले इनोभेटिभ सोलुसन तथा नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ ।
नगरपालिका र इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकहरुलाई आवश्यक तालिम प्रदान गर्नेछन् । कर्जा, अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपंन्छी कर्जाअनुसार ब्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यबस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयरले गर्नेछ ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।