काठमाडौं । एनआईसी एसिया बैंकको बानेश्वर शाखामा कार्यरत कर्मचारीको योजनामा लाखौं रुपैयाँ लुटपाट भएको खुलेको छ । बैंकका कर्मचारीको मिलेमतोमा १६ लाख ३० हजार लुटपाट भएको हो ।
पुस १८ गत काठमाडौँ महानगरपालिका–३१ स्थित युनिग्लोब कलेज अगाडीबाट सङ्कलन गरेर ल्याउँदै गरेको रकम लुटिएको थियो । पैसा लुटमा संलग्न चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) सुदीप गिरीले पुष्टि गरे ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका(७ काँडाघारी बस्ने २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोक घर भई ललितपुरको धापाखेल बस्ने २४ वर्षीय विमल तामाङ, रामेछाप घर भई ललितपुरको ढोलाहिटी प्रगतिमार्ग बस्ने २४ वर्षीय शक्तिराज पौडेल र भक्तपुरको देउराली बस्ने २७ वर्षीय अनिश खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार खत्री यस घटनाका मुख्य योजनाकार हुन्। उनी काठमाडौं महानगर ३१ बानेश्वरको युनिग्लोब कलेजअघि एनआइसी एसिया बैंकको कलेक्टर थिए।
खत्रीले गत आइतबार अपरान्ह ४ बजे उनले काठमाडौंको वडा नम्बर १० कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेट लाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ८५ हजार ४२४ रुपैयाँ गरी जम्मा १६ लाख ३० हजार ४२४ रुपैयाँ संकलन गरेका थिए।
शान्तिनगर स्थित मेटलाइफ इन्सुरेन्सबाट उठाएको रकम मीनभवन स्थित देउराली क्लवसँगैको युनिग्लोव कलेज अगाडीबाट लुटिएको थियो । शान्तिनगरबाट पैसा सङ्कलन गरेर मोटरसाइकलमा आउँदै गरेका प्रदीप खत्री र बैङ्ककी कर्मचारी २५ वर्षीया आरुसी भण्डारीलाई रोकेर ३ जना युवाले लुटेका थिए
खत्रीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा लुटको पोल खुलेको थियो । लुटेको पैसा चारजनाले बाँडेर लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूको साथबाट प्रहरीले १३ लाख ४६ हजार बरामद भएको छ ।