काठमाडौं । सनराइज बैंकले सहकारी क्षेत्रलाई समेत लक्षित गर्दै ‘चिप बेस्ट एटीएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । जुन भिसा कार्ड बैंकले केही समयअघि मात्रै एक कार्यक्रमकाबीच सार्वजनिक गरेको थियो ।
बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्डमार्फत बैंकका जुनकुनै एटीएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एसियामा नै पहिलो र उत्कृष्ट रहेको दाबी गरेको छ ।
‘चिप बेस्टकार्ड मल्टी पर्पोज कार्ड हो । त्यसलाई भिसाको ब्रान्डिङ कार्ड समेत भन्न सकिन्छ । मल्टिपल संस्थाहरु मिलेर ब्रान्ड बनाएर प्रयोग गर्न सकिने गरी बनाइएको डेबिटकार्ड नै मल्टिपल कार्ड हो । जुन कार्ड पहिलो पटक सनराइज बैंकले प्रयोगमा ल्याएको छ’, सनराइज बैंकका कार्यकारी अधिकृत (सीईओ) शुमन शर्माले भने, ‘यो भिसा कार्ड नेपालमा मात्र नभएर दक्षिण एसियामा नै पहिलो र उत्कृष्ट सेवा हो ।’
त्यसो त सीईओ शर्माका अनुसार यस्तो कार्ड पहिलो पटक सनराइज बैंकले सहकारी संस्था, सनराइज बैंक र भिसा तीनवटै लोगोमा डिजाइन गरेको छ । सोही कार्डमार्फत अर्थात् सनराइज बैंकको कार्डमार्फत सहकारीका ग्राहकहरुले समेत जुन कुनै वाणिज्य बैंकको एटीएमबाट, जुन कुनै समयमा सजिलै आफ्नो खाताको पैसा झिक्न सक्नेछन् ।
तर, यसका लागि सम्बन्धित सहकारी संस्थाले बैंकसँग कारोबारको साझेदारी गरेको हुनुपर्नेछ । यस्तो सहकारीका सदस्यहरुले बैंकको एटिएमबाट पैसा झिक्दा थप अतिरिक्त शुल्क तिर्नुपर्दैन । त्यसका लागि बैंकले नै शुल्क तिरिदिन्छ । अहिलेको प्रविधियुक्त समयमा अझैं सहकारी संस्थाहरु डिजिटल प्रयोगमा जान नसकिरहेको बेलामा बैंकको यस्तो सुविधा ल्याएर राम्रो काम गरेको शर्मा बताउँछन् । यस कार्यबाट थप ८० लाख माथिका सेवाग्राहीहरु डिजिटल पहुँचमा समाहित हुने उनले बताए ।
सनराइज बैंकको कार्ड होल्डरले सम्पूर्ण कामहरु कार्डका लागि सम्झौता गरेका सहकारीका ग्राहकले गर्न सक्छन् । जस्तो सनराइज बैंकको एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस्तो कार्ड होल्डर्सले सनराइज बैंकको एटीएमबाट मात्र नभई २७ वटै कमर्सियल बैंक र विकास बैंकहरुको एटीएम मेसिनहरुबाट समेत पैसा झिक्न सक्ने सीईओ शर्माको भनाइ छ ।