काठमाण्डौ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंकले मुनाफामा आकर्षक प्रगति गरेको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख मात्र नाफा आर्जन गरेको थियो ।
यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख बढी रहेको छ ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म २२ करोड २४ लाखमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाखको उचाइ चुमेको हो । यसरी अघिल्लो वर्षको तुलनामा बैंकले सञ्चालन मुनाफामा समेत ६८.१६ प्रतिशतको छलाङ मारेको छ ।
व्यवसाय वृद्धिमा बैंक व्यवस्थापनले ध्यान दिएका कारण खुद ब्याज आम्दानीतर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५४ करोड २१ लाखमा सीमित खुद ब्याज आम्दानी बढेर यो वर्ष ७९ करोड ५८ लाख माथि पुगेको छ ।
यस्तै, अघिल्लो वर्ष ६५ करोड ९५ लाखमा सीमित रिजर्बको आकार बढेर समीक्षा अवधिसम्म ७२ करोड ४२ लाख पुगेको छ भने चुक्तापुँजी पनि २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ ।
समीक्षा अवधिमा सांग्रिला बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो ।
नाफामा भएको राम्रो बढोत्तरीसँगै सांग्रिला बैंकको दास्रो त्रैमाससम्मको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ईपीएस १२ रुपैयाँ ६५ पैसा रहेकोमा बढेर समीक्षा अवधिसम्म १७.३९ रुपैयाँ पुगेको हो ।
बैंकले यो अवधिमा खराब कर्जाको अनुपात सुधारमा निकै कसरत गरेको देखिन्छ । परिणामस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म २.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित बन्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फन्ड ७.४३ प्रतिशत रहेको छ ।
यस्तै, प्रतिसेयर नेटवर्थ १३०.९७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको छ ।