काठमाडौं । एनआईसी एसिया बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १६.५७ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पुससम्म बैंकले २ अर्ब ४० रुपैयाँ खुदनाफा गरेको छ । दोस्रो त्रैमासमा समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ ।
दोस्रो त्रैमासमा कर्जा विस्तार १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी कुल कर्जा २ खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको बैंकले जनाएको छ । समीक्षा अवधिमा निक्षेप ८ प्रतिशत (२२.०४ अर्ब) ले वृद्धि गरी २ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको स्वपुँजीमा प्रतिफल २१.७७ प्रतिशत छ । यस्तै प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ छ । कोभिडको विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्म ०.४७ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ ।
बैंकले दोस्रो त्रयमाससम्म ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकमाझ सेवा पुर्याएको छ । त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
मुलुकभर रहेका ३५८ शाखा कार्यालय,४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर, ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिएको छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड भन्दा बढी राजस्व सरकारलाई बुझाएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको जनाएको छ ।