काठमाडौं । नेपालका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्किङ मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको बताएको छ । बुधबार एक सूचना जारी गर्दै यस्ता कारोबारले नेपालमा मान्यता नपाएको भन्दै गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार नगर्न भनेको छ ।
यस्ता कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले यस्ता कारोबारमा संलग्न नहुनका लागि संघले भनेको छ ।
बैंकर्स संघले पनि राष्ट्र बैंककै भाषा प्रयोग गर्दै नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुले समेत यस्तो कार्य गरेको पाइएमा प्रचलिक कानुनबमोजिम कारबाही हुने व्यहोराको जानकारी गराएको छ । नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संगठन भएकाले उसले कारबाही गर्न मिल्दैन ।
नेपाल राष्ट्र बैंकले केहि दिन अगाडी यस्तै कारवाहीको चेतावनी सहितको सूचना जारी गरेको थियो । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्न नेपाली तथा विदेशी नागरिक र विदेशमा रहेका नेपालीलाई यस्ता कारोबारमा संलग्न भएको पाएमा कारबाही गर्ने चेतावनी दियो ।
क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार नगर्न राष्ट्र बैंकले सूचना जारी गरेको थियो ।
यद्यपी राष्ट्र बैंक र बैंक वित्तीय संस्था कारोबारीलाई कारवाही गर्ने आधिकारिक निकाय भने होइनन् । बैंक वित्तीय संस्थाले राष्ट्र बैंक र राष्ट्र बैंकले सरकारमार्फत यस्ता कारोबारको अनुसन्धान गर्ने गरिन्छ ।
राष्ट्र बैंकको कानूनी महाशाखा र वित्तीय सूचना इकाई मार्फत शंकास्पद कारोबारको छानविन नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत गर्दछ । प्रहरी गरेको अनुसन्धानलाई सरकारी वकिलको कार्यालयमा पेस गर्दछ । सरकारी वकिल कार्यालयले विगो दावी सहित आवश्यक सजाय तोकि अदालतमा मुद्दा पेस गरी अदालतबाट अन्तिम फेसला हुने गर्दछ ।