काठमाडौं । देशकै ठूलो र अग्रणी दूरसञ्चार कम्पनी आजबाट १९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १८ औं वार्षिक उपलक्ष्यको अवसरमा भ्वाइस ओभर एलटीई भोल्टे सेवाको व्यवसायिक सुरुवात गरेको छ ।
फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न भोल्टे प्रविधिको परिक्षण सञ्चालन टेलिकमले गत जेठबाट सुरु गरेको थियो । आठ महिनापछि टेलिकमले भोल्टेको व्यवसायिक सेवाको औपचारिक सुरुवात आजदेखि गरेको हो ।
वार्षिक उपलक्ष्यको अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि माघ २२ गते २४ सैं घण्टा भोल्टेको निशुल्क सेवा प्रयोग गर्ने सुविधा ल्याएको छ । १९ औं वर्षमा पुगेको देशकै अग्रणी सरकारी दुरसञ्चार कम्पनी नेपाल टेलिकमको आज बजार हिस्सा ५४.२६ प्रतिशत रहेको छ । हाल नेपाल टेलिकमको टेलिफोन ग्राहक सेवा संख्या २ करोड २७ लाख ८८ हजार ३ सय ३७ रहेको छ । यसैगरी ब्रोडब्याण्डतर्फ ग्राहक सेवा संख्या १ करोड ९९ लाख ८ हजार ३ सय ९६ जना रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष बैकुन्ठ अर्यालले ग्राहक सङ्ख्या बढेको आधारमा कम्पनीको प्रगति भइरहेको देखिए पनि गुणस्तरीय सेवा, सक्रिय प्रयोगकर्ता र त्यसबाट हुने आम्दानी महत्त्वपूर्ण हुने बताए ।
‘कम्पनीको सेवा भनेको बेला पाइँदैन । ग्राहक आधार बढाउदै जाने तर गुणस्तर नहुने हो भने मानिसहरूले सेवा लिँदैनन्,’ उनले भने, ‘यति धेरै पूँजी भएको, सरकारी संरक्षण र सहयोग पाउँदा पनि आवश्यक स्थानमा सेवा नपुग्नु राम्रो होइन । काठमाडौंमा पनि बेलाबेलामा फोन लाग्दैन, भद्रकालीको मोडमै पनि फोन नलागेको अनुभव मैले थुप्रै पटक गरेको छु ।’
प्रतिस्पर्धामा कम्पनी कति खरो उत्रिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुने भन्दै सचिव अर्यालले दूरसञ्चारको अग्रणी संस्था भए पनि अझै पनि परम्परागत रुपमा सेवा दिइरहेको बताए ।
‘यसका लागि पूर्वाधार निर्माण महत्त्वपूर्ण हुन्छ । अझै फोरजीको १४० ओटा टावर बनाउन बाँकी छ । यसमा गम्भीर भएर लाग्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अप्टिकल फाइबरको दुई वर्षभित्र २० हजार किलोमिटर बिच्छ्याउने भनेका छौँ, तर अहिले त्यसअनुरूप काम हुन सकेको छैन ।’