काठमाडौं। नेपालमा डिजिटल पूर्वाधारको विकासलाई तीव्रता दिन २ सय ५० करोड रुपैयाँ लगानीमा नेपालको पहिलो टियर हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने बिचुटेन डाटा भोल्टले कम्पनीले घोषणा गरेको छ। नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्यका साथ कम्पनीले यो परियोजना अघि सारेको हो ।
नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणापछि कम्पनीका अध्यक्ष नवीन अग्रवालले काठमाडौँमा एउटा साईट र वीरगञ्जमा अर्को एउटा साईट बाट सुरु हुने बताए । २ सय ४० किलोवाटबाट सुरु गरेको सो परियोजना सन २०३० सम्ममा यसलाई पाँच मेगावाट सम्म विस्तार गर्ने तथा समयसापेक्ष यसलाई नेपालका विभिन्न भुगोलमा पनि विस्तार गर्ने योजना रहेको अग्रवालले बताए ।
टियर हाइपरस्केल डाटा सेन्टर निर्माणले नेपालको भौगोलिक परिधिलाई मात्र बजार मान्नु हुँदैन। यहाँ माग उच्च छ, तर हाम्रो पहुँच फराकिलो हुनुपर्ने उनले बताए । भोलिका दिनमा माग र अवसरहरू थपिँदै जाँदा, हामी हाम्रो व्यवसायलाई थप सुदृढ र विस्तार गर्दै लैजाने बताए।
टियर हाइपरस्केल डाटा सेन्टर परियोजनाले विदेशी सर्भरहरूमा हुने निर्भरता घटाउने प्रमुख लक्ष्य राखेको उद्यमी अग्रवालले बताए । जसले राष्ट्रिय डेटा सुरक्षा र सेवा गतिको वृद्धि गर्नेछ। टियर फोर डेटा सेन्टरले ९९ दशमलव ९९५% अपटाइम सुनिश्चित गर्दै नेपालको क्लाउड कम्प्युटिङ र एआई सेवालाई विश्वस्तरीय बनाउनेछ। यसले स्थानीय उद्यमीहरूलाई सस्तो र भरपर्दो डेटा भण्डारणको अवसर प्रदान गर्ने अग्रवालको बुझाई छ। नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टरले मुख्यतया सरकार, बैंकिङ, कृषि, शिक्षा, स्वास्थ्य सेवा र वित्तीय क्षेत्रहरूको लागि समस्या समाधान गर्न सहजता हुने उनले बताए । अर्कोतर्फ स्वास्थ्य संस्थामा, कृषिमा सुधार हुनेछ।

हाइपरस्केल डाटा सेन्टर उर्जा दक्ष र पूणतया नेपालको जलविद्युतमा आधारित हुने जसका कारण दिगो र वातावरण मैत्री प्रविधिको प्रयोगलाई प्रोत्सहन गर्ने भिभिडिएन टेक्नोलोजीका हेड अफ एआई प्रोडक्टस एण्ड पार्टनरसिपका मनोज विश्वालले बताए। हरित ऊर्जाको प्रचुरता तथा सौर्य ऊर्जा पनि राख्न सकिन्छ। त्यसैले, यदि हामी यो सबै उपयोग गर्न सक्यौं भने, यहाँ धेरै रोजगारी सिर्जना हुने उनले बताए । हामी यस्तो पूर्वाधार निर्माण गर्न सक्छौं कि विदेशबाट मानिसहरू यहाँ अध्ययन गर्न, सिक्न आउन सकुन र यहाँ आईटी हब बनाउन सकौं विश्वालले बताए।
के हो हाइपरस्केल डाटा सेन्टर
हाइपरस्केल डेटा सेन्टर भन्नाले निकै ठूलो स्तरमा डेटा भण्डारण र प्रशोधन गर्न सक्ने विशाल पूर्वाधारलाई बुझिन्छ। यो साधारण डेटा सेन्टर भन्दा धेरै गुणा ठूलो र शक्तिशाली हुन्छ। यो डेटा सेन्टरले देशको सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो गेमचेञ्जरको रुपमा आउने संकेत गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको योजना अनुसार, नेपालको पहिलो टियर हाइपरस्केल डेटा सेन्टरको स्थापनासँगै स्वदेशी प्रविधिको विकास र व्यापक रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिइएको हो कम्पनीले जनाएको छ। परियोजनाको सबैभन्दा सबल पक्षमध्ये स्वदेशी जनशक्तिको परिचालन र रोजगारी हो। बिचुटेन डेटा भोल्टको निर्माण र सञ्चालनले नेपालका सयौँ दक्ष आईटी प्रोफेसनल, सफ्टवेयर इन्जिनियर र पूर्वाधार विशेषज्ञहरूका लागि नयाँ ढोका खोल्ने विश्वास गरिएको छ। कम्पनीका अनुसार, यो पूर्वाधारले नेपालमै सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा उच्च स्तरको रोजगारी सिर्जना गरी दक्ष जनशक्ति पलायन रोक्न मद्धत गर्नेछ।
बिचुटेनले केवल डेटा भण्डारणमा मात्र सीमित नरही नेपाललाई प्रविधि उत्पादनको केन्द्र बनाउने दूरगामी लक्ष्य लिएको छ। भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याबलेट जस्ता विद्युतीय उपकरणहरू उत्पादन गर्ने कम्पनीको योजना छ। सो कदमले नेपाललाई केवल प्रविधिको प्रयोगकर्ता मात्र नभई उत्पादक राष्ट्रको रूपमा आफुलाई प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

डिजिटल सार्वभौमसत्तातर्फ ऐतिहासिक युगको सुरुवात
नेपालले आफ्नो डिजिटल भविष्य सुरक्षित बनाउने दिशामा ऐतिहासिक कदम चालेको छ। बिचुटेन डाटा भल्ट प्रा. लि ले नेपालको पहिलो टियर आईभी हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो। सो परियोजनाले नेपाललाई दक्षिण एसियाको उदीयमान डिजिटल हबका रूपमा स्थापित गर्ने खाका कोरेको छ। विश्वस्तरीय सुरक्षा मापदण्डसहित निर्माण हुने यस डाटा सेन्टरले ९९ दशमलव ९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्नेछ भने वर्षभरि अत्यन्त न्यून प्राविधिक अवरोधसहित बैंकिङ, क्लाउड सेवा, कृत्रिम बौद्धिकता अर्थात एआई सरकारी डाटा तथा डिजिटल प्रणालीहरू सुरक्षित रूपमा सञ्चालन गर्न सकिने जनाएको छ। कम्पनीका अनुसार यो परियोजना केवल प्रविधि पूर्वाधार निर्माण मात्र होइन नेपालको डिजिटल सार्वभौमसत्ता सुदृढ गर्ने अभियान रहेको दावी छ ।
अब नेपाली डाटा नेपालमै सुरक्षित राख्ने इन–कन्ट्री डाटा रेसिडेन्सी अवधारणाले राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोधात्मक क्षमता थप मजबुत बनाउने अपेक्षा छ। प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भिभिडीएन टेक्नोलोजी गुगल क्लाउड, एएमडी र माईक्रोन जस्ता विश्वविख्यात प्रविधि कम्पनीहरुसाग रणनीतिक साझेदारी गरिएको उद्यमी नवीन अग्रवालले बताए। त्यस्तै अहिलेको परिपेक्षमा जलविद्युत् नेपालको ऊर्जा भविष्य हो, भने अर्कोतर्फ डाटा पूर्वाधार नेपालको डिजिटल भविष्य बन्ने निश्चित देखिएको छ।

सो परियोजनाले हजारौं युवाका लागि सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्नुका साथै स्टार्टअप, फिनटेक र नवप्रवर्तनलाई नयाँ गति दिने अपेक्षा छ। त्यस्तै बिचुटेन डाटा भल्टले नेपाललाई सुरक्षित, आत्मनिर्भर र विश्वस्तरीय डिजिटल राष्ट्र बनाउने दीर्घकालीन लक्ष्यसहित यो पहल अगाडि बढाएको जनाएको छ।