काठमाडौं । नेपाली ल्याबमा परीक्षण भएका वस्तुले भारतीय ल्याबसरह मान्यता पाउने भएका छन् भने भारतमै परीक्षण भएर आएका वस्तु नेपालमा टेस्ट गरिरहनुपर्ने झन्झट हुने छैन ।
यसअघि नेपाल र भारतबीच फुड सेफ्टीसम्बन्धी समझादारीपत्र (एमओयू) मा समेत हस्ताक्षर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एज्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाबीच यस्तो सहमति भएको हो ।
खाद्य विभागका अनुसार, अहिले नेपालका २१ ओटा वस्तुलाई भारतीय ल्याबले सुचीकृत गरिसकेको छ । भारतीय ल्याब अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त बेन्च मार्क हो । योसँगै नेपालका २१ ओटा वस्तु चाहे नेपाल वा भारतमा टेस्ट गरेपछि अन्तर्राष्ट्रिय बेन्च मार्कका आधारमा मान्यता पाउनेछन् ।
समझदारीपत्रमा दुई देशका खाद्य सुरक्षाका समस्या मिलेर समाधान गर्ने उल्लेख छ । कुनै वस्तु उच्च जोखिमयुक्त छ भन्ने शङ्का लागेमा भने आ–आफ्नो देशमा परीक्षण गर्न सकिने अवस्था भने कायम रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
नेपालका तीन मुख्य ठाउँमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला राखिने छ । विराटनगर, वीरगंज र भैरहवामा अत्याधुनिक ल्याब राखेर वस्तु आयात र निर्यात गरिने विभागले जनाएको छ ।
सबै भन्सार नाका र ठाउँमा ल्याब राख्न सम्भव नभएको अवस्थामा भारतीय ल्याब परीक्षणसम्बन्धी गरिएको समझदारीले धेरै हदसम्म सहयोग पुग्ने महर्जनको भनाइ छ । अहिले विभिन्न भन्सार, नाकाहरुमा आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण गरेर मात्रै भित्र्याइएको छ ।
नेपालले भारतीय परीक्षणयोग्य वस्तुको नोटिफाइडका लागि प्रस्ताव माग गरेको छ । उता, भारतले भने २१ ओटा बस्तुको परीक्षण नोटिफाइड गरिसकेको छ । दुई देशको खाद्य सुरक्षा, कानुन हेरेर थप वस्तुको ल्याब नोटिफाइड हुने विभागले जनाएको छ । यसले नेपालका वस्तुको निर्यात प्रवद्र्धनमा टेवा पुग्ने देखिएको छ ।