काठमाडौं। आन्दोलन र आगजनीबाट सबैभन्दा बढी प्रभावित भएको सी.जी. इलेक्ट्रोनिक्सल नयाँ प्लान्टमार्फत उत्पादन सुरु गर्दै चालु आर्थिक वर्षको ६ महिनामा १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीले गत वर्ष ७० करोड र अघिल्लो वर्ष ६९ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
सेप्टेम्बर २०२५ को आन्दोलनमा कम्पनीको साविकको एसेम्बलिङ प्लान्ट र गोदाम पूर्ण रूपमा नष्ट भएको थियो, जसले गर्दा यसको आम्दानीमा ५७ प्रतिशतको भारी गिरावट आएको छ।
आफ्नो प्लान्ट ध्वस्त भएपछि कम्पनीले सन् २०२६ जनवरीदेखि ललितपुरको भैँसेपाटीमा नयाँ सुविधासम्पन्न एसेम्बलिङ युनिट सञ्चालनमा ल्याएको छ। इक्रा नेपालले यस कम्पनीको ६६ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘एफोर प्लस’ रेटिङ प्रदान गरेको छ। कम्पनीको करिब ४० वर्ष लामो व्यावसायिक इतिहास र स्थापित बजार हिस्साका कारण यो साख दिइएको हो।
निवार्ण चौधरीको ५२ प्रतिशत, चौधरी ग्रुपको ४७ प्रतिशत र सारिका चौधरीको १ प्रतिशत रहेको सीजी सी.जी. इलेक्ट्रोनिक्स सन् १९८८ मा स्थापना भएको हो। सी.जी. इलेक्ट्रोनिक्स नेपालका लागि एलजी ब्रान्डको विशेष आधिकारिक आयातकर्ता, एसेम्बलर र वितरक हो। कम्पनीको मुख्य व्यवसाय एलइडी टेलिभिजनको एसेम्बलिङ र बिक्रीमा केन्द्रित छ। सन् २०२५ को तथ्याङ्कअनुसार कम्पनीको कुल आम्दानीमा एलजी र सिजी ब्रान्डको हिस्सा ८२ प्रतिशत रहेको छ। आगजनीबाट भएको क्षतिको बीमा दाबी प्रक्रियामा रहेकाले यसले कम्पनीको वित्तीय क्षतिलाई धेरै हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।
साझा चुनौती र वित्तीय विश्लेषण
यी दुवै कम्पनीमा निर्वाण चौधरीको मुख्य सेयर स्वामित्व रहेको छ(इ.ओ.एल. मा ९९ प्रतिशत र सी.जी. इलेक्ट्रोनिक्समा ५२%)। चौधरी ग्रुपको बलियो ब्रान्ड भ्यालु र स्थापित वितरण सञ्जाल यी दुवै कम्पनीका लागि मुख्य सबल पक्ष हुन्। यद्यपि, दुवै कम्पनीका सामु चालुपुँजीको व्यवस्थापन र उच्च मौज्दात प्रमुख चुनौतीको रूपमा देखिएको छ।
ई.ओ.एल. को चालुपुँजीको सघनता ६८ प्रतिशत पुगेको छ भने सी.जी. इलेक्ट्रोनिक्सको ११५ प्रतिशत छ। यसको अर्थ, कम्पनीहरूको ठूलो पुँजी बजारको उधारो र नयाँ सामान भण्डारणमा फसेको छ। आन्दोलनपछिको नयाँ मौज्दात व्यवस्थापनले गर्दा पनि यो चाप बढेको हो।
यसका साथै, इलेक्ट्रोनिक्स क्षेत्रमा भइरहेको तीव्र प्रतिस्पर्धा, प्रविधिमा आउने छिटो परिवर्तन र सरकारले आयात शुल्कमा गर्ने फेरबदलले नाफाको मार्जिनलाई प्रभाव पार्न सक्ने इक्राको विश्लेषण छ। चालू आवको ६ महिनामा ई.ओ.एल.को सञ्चालन नाफा मार्जिन १०.८ प्रतिशत र सी.जी. इलेक्ट्रोनिक्सको ७.२ प्रतिशत रहेको छ।
आन्दोलन र आगजनी जस्तो विषम परिस्थितिलाई झेलेर ६ महिनामै अर्ब बढीको व्यापार गर्नुले चौधरी ग्रुपको व्यावसायिक सुदृढतालाई पुष्टि गर्दछ। ई.ओ.एल. ले आफ्नो गुमेको लय समातिसकेको छ भने सी.जी. इलेक्ट्रोनिक्सले नयाँ प्लान्टमार्फत विस्तारै बजार विस्तार गर्दैछ। आगामी दिनमा सञ्चालन खर्च घटाउँदै नाफा बढाउनु र बीमा रकमको पूर्ण प्राप्ति गरी बैंक ऋणको भारलाई सन्तुलनमा राख्नु नै यी दुई कम्पनीका लागि मुख्य जिम्मेवारी देखिएको छ। प्रविधिमैत्री उत्पादन र स्मार्ट होम एप्लायन्सको बढ्दो मागले गर्दा आगामी त्रैमासहरूमा यी कम्पनीको व्यापार अझै बढ्ने प्रक्षेपण रिपोर्टमा उल्लेख छ।