काठमाडौं। चौधरी ग्रुपअन्तर्गत सञ्चालित इलेक्ट्रोनिक्स कम्पनीहरूले आन्दोलनपछिको क्षतिबाट सशक्त रूपमा पुनरागमन गरेका छन्। सन् २०२५ सेप्टेम्बरमा भएको जेनजी आन्दोलनले पुर्याएको क्षतिपछि पनि चौधरी ग्रुपअन्तर्गत सञ्चालित २ वटा इलेक्ट्रोनिक्स कम्पनीहरूले ६ महिनामै अर्ब बढीको व्यापार गरेका हुन्।
२०८२ भदौ २३ र २४ गते राजनीतिक अशान्ति र आन्दोलनका कारण ई.ओ.एल. र सी.जी. इलेक्ट्रोनिक्सको उत्पादन प्लान्ट तथा गोदाममा भएको भीषण आगजनी र भौतिक क्षति भएको थियो। यसका बाबजुद यी कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल १ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन्।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार निर्वाण चौधरीको मुख्य नेतृत्वमा रहेका यी दुई कम्पनीले विषम परिस्थितिमा पनि आफ्नो साख जोगाउन सफल भएका छन्। एजेन्सीले दुवै कम्पनीको वित्तीय अवस्थाको विश्लेषण गर्दै साख (रेटिङ) पुनः पुष्टि गरेको छ।
ई.ओ.एल.: ९६ करोडको व्यापारसँगै साखमा सुधार
चौधरी ग्रुपको इलेक्ट्रोनिक्स र घरायसी सामग्री वितरण गर्ने अग्रणी कम्पनी ई.ओ.एल.ले चालू आवको पहिलो ६ महिनामा ९६ करोड ३० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। कम्पनीले गत वर्ष २ अर्ब १८ करोड र अघिल्लो वर्ष १ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
सेप्टेम्बर २०२५ को दङ्गामा यो कम्पनीको गोदाममा रहेको करिब २८ करोड रुपैयाँ बराबरको मौज्दात नष्ट भएको थियो, जसका कारण इक्रा नेपालले यसलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ (नकारात्मक प्रभावको निगरानी) मा राखेको थियो।
तर, कम्पनीले बिमा कम्पनीबाट क्षतिको ठूलो हिस्सा (करिब ९० प्रतिशत) भुक्तानी पाइसकेको र बजारमा माग बढेपछि इक्राले यसलाई उक्त निगरानी सूचीबाट हटाउँदै साख पुनः पुष्टि गरेको हो। इक्राले ई.ओ.एल. को कुल १ अर्ब ७९ करोड रुपैयाँ बराबरको बैंक ऋणका लागि रेटिङ प्रदान गरेको छ। कम्पनीको दीर्घकालीन ऋणका लागि ‘एल त्रिपल बी माइनस’ र अल्पकालीन ऋणका लागि ‘एथ्री’ रेटिङ कायम गरिएको छ ।
सन् २००९ देखि सञ्चालनमा आएको ई.ओ.एल.मा निवार्ण चौधरी होल्डको ९९ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीले नेपालका लागि विश्वविख्यात ब्रान्ड गोडरेज, बेको, टीसीएल, इलिकार केन्टको आधिकारिक वितरक हो। साथै, ग्रुपका आफ्नै ब्रान्डहरू सिजी र सेन्सेइको वितरण पनि यसै कम्पनीमार्फत हुन्छ। देशभर १ हजारभन्दा बढी डिलर र २८ वटा आफ्नै आउटलेटमार्फत यसले बजार ओगटेको छ। कम्पनीको ऋण र पुँजीको अनुपातमात्र ०.८ गुणा रहनुले वित्तीय जोखिम नियन्त्रणमै रहेको देखाउँछ।