काठमाडौं । नेपालका चार युवाको सक्रियतामा कतारपछि पहिलो पटक नेपाली तरकारी दुबइमा पुर्याइएको छ । अल समन इन्टरनेट कम्पनीमार्फत यसअघि ती युवाहरुले कतारमा तरकारी निर्यात गर्दै आएका थिए । बुधबारदेखि खाडी देश दुबईसम्म पहिलो पटक तरकारी निर्यात गरी बिक्री गर्न थालेका हुन् । दुबईको सफारी मलबाट नेपाली अग्र्यानिक तरकारी बिक्री हुने कम्पनीका सञ्चालक सुमन बरालले बताए । त्यसका लागि पहिलो लटको तरकारी दुबई पुगिसकेको उनको भनाइ छ ।
छिमेकी देशमा मात्र नभएर खाडी मुलुकमा नेपाली अग्र्यानिक तरकारी निर्यात हुन थालेको हो । विशेषगरी मूला, साग, निगुरो, गुन्द्रुक, तामा, सिन्की, करेला, काँक्रो, बोडी, खुर्सानीलगायत तरकारीजन्य वस्तु दुबई पठाइएको छ ।
उनीहरुले तरकारी विदेश पठाउनकै लागि २५ लाख रुपैयाँ लगानीमा ‘अल सामान इन्टरनेसनल’ कम्पनी दर्ता गराएका छन् । चलचित्रकर्मी कल्याण घिमिरेको सोच र अगुवाइमा ‘अल सामान इन्टरनेसनल’ कम्पनीमार्फत सातदोबाटोमा कम्पनीको तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि कोल्ड स्टोर स्थापना गरिएको छ । किसानबाट तरकारी ‘ग्रेडिङ’ गरी सङ्कलन केन्द्रमा ल्याइन्छ । केन्द्रमा पुनः तरकारीको ‘ग्रेडिङ’ गरी निर्यातयोग्य गुणस्तरको तरकारी प्याकेजिङ गरी हरेक आइतबार र बुधबार तरकारी कतार पुर्याइँदै आएको बरालको भनाइ छ । अब दुबईमा पनि हप्ताको दुइ पटक तरकारी पुर्याउने सोच कम्पनीको छ ।
कल्याण घिमिरे, सुमन बराल, धनराज आचार्य र शैली राणाको संयुक्त लगानीमा कम्पनी खोलिएको हो । किसानलाई बिचौलियाबाट मुक्त गराई आकर्षक उत्पादन मूल्य प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको सञ्चालक बराल बताउँछन् । अग्र्यानिक उत्पादन वृद्धि र किसानलाई लक्ष्य गरी व्यावसायिक उत्पादनमा जोड दिने मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।
‘हाम्रो ‘टार्गेट’ नै किसानलाई व्यावसायिक बनाउनु मात्र होइन, बिचौलियाबाट मुक्त गराउनु पनि हो,’ बरालले भने, ‘अग्र्यानिक उत्पादन र ग्रेडिङ गरेको तरकारी हुनुपर्छ । अरु व्यापारीले भन्दा बरु दसपन्ध्र रुपैयाँ बढीमा किन्छौं ।’
अहिले कतारमा मात्रै तरकारी निर्यातमार्फत मासिक न्यूनतम १५ लाख रुपैयाँ कारोबार भएको कम्पनीको दाबी छ । कम्पनी सञ्चालक बरालका अनुसार अन्य ६ ओटा खाडी मुलुकमा पनि नेपाली अग्र्यानिक तरकारी निर्यात गर्ने योजना छ ।