काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी कम्पनी, व्यक्ति तथा गैरआवासीय नेपालीले मुद्दती निक्षेप खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि त्यसको जोहो गर्न राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले यसअघि यस्तो ब्यवस्था गरेको थिएन । तरलताको सङ्कट टार्न यसअघि बैङ्क तथा वित्तीय संस्थाहरुले विदेशी बैङ्कसँग आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । तर, सो व्यवस्था भने प्रभावकारी भएको छैन । केही बैङ्कले मात्रै ऋण ल्याएका छन् भने अधिकांश बैङ्कले ऋण ल्याउन सकेका छैनन् ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका नाममा १७ बुँदे परिपत्र जारी गर्दै मुद्दती निक्षेप खाता खोल्न पाउने व्यवस्था गरेको छ । यस्तो निक्षेप कम्तीमा दुई वर्ष अवधिको हुनु पर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार खाता डलरका साथै युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रियन तथा क्यानेडियन डलरमा पनि खोल्न सकिने जनाएको छ । विदेशी मुद्रामा सङ्कलन गर्ने निक्षेप रकम बैङ्क तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको रकमसमेत गरी आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत मात्रै सङ्कलन गर्न पाइने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।
राष्ट्र बैङ्कले विदेशी बैङ्कबाट लिएको ऋण र यस्तो निक्षेपको अंश प्राथमिक पुँजीको शतप्रतशित मात्र हुनु पर्ने व्यवस्था गरेको छ । साथै मुद्दती निक्षेप खाताको ब्याज प्रदान गर्ने प्रयोजनका लागि मात्रै संबन्धित मुद्दती निक्षेपकर्ताका नाममा सोही मुद्रामा बचत खातासमेत खोल्न सकिने जनाएको छ ।
त्यस्तै, विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीले कम्तीमा १० हजार डलरबराबरको रकम निक्षेप गर्न पर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ । राष्ट्र बैंकका अनुसार विदेशबाट प्राप्त हुने रकम बैङ्किङ प्रणालीबाट मात्रै प्राप्त गर्न सकिने छ ।