काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन कि भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफूले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बाइन् ।
'सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर, मैले मज्जाले बुझेकी छु,' मन्त्री अर्यालले भनिन्,‘अबको दिशा समृद्धि, विकासकै दिशा हो । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस् भनेको सहकारीले सहकारीमै लगानी गर्नुस भनेको हो ।’
सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन भन्ने प्रश्न पनि उठिरहेको सन्दर्भमा अब भाषण मात्र नभएर काम गर्नुपर्ने उनको भनाइ थियो । त्यसैका निम्ति सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लाग्नुपर्ने मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ;तपाइहरू सबै उत्पादनमा लागी सबै अभियन्तालाई बोलाएर एक–एक वटा होमवर्क दिएर पठाउने हो ।'
भूमि खाली भयो । अब भूमिको अधिकतम् प्रयोग गरेर जाने हो पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुपर्यो भनेर त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको समेत बताइन्।
सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै उनले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताइन् । केही प्राविधिक कुरा मिलाउनु पर्यो भन्ने सुझाव आएको भन्दै उनले यसलाई कार्यान्वयन गर्नेगरी जाउ भनेर अभियन्ताहरूले भनेको बताइन् ।
राज्यको ध्यान सहकारी क्षेत्रमा रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न कोकोमिस प्रणाली बनाएर गएको बताइन् । भूमिलाई निजी सम्पत्तिको रुपमा स्वीकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै मन्त्री अर्यालले त्यही भूमिको अधिकतम प्रयोग गर्दै जानुपर्ने बताइन्।
मन्त्री अर्यालले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेगरी जान पत्रकारहरूलाई आग्रह गरीन् । समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउनेगरी कलम चल्नुपर्ने उनको भनाइ थियो ।
दुई पत्रकार सम्मानित
यसैबीच त्यस अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारु क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलिया र अर्थबजार डटकमका प्रबन्ध निर्देशक डिल्ली सापकोटालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेककी हुन् ।