काठमाडौँ । गत शनिबार चिनियाँ ह्याकरहरुले नेपालका एटीएम बुथबाट क्लोन डेबिट र क्रेडिट कार्ड प्रयोग गरी करौडौँ रुपैयाँ चोरी गरे । पछिल्लो समय विश्वमा नै बैङ्किङ प्रणालीमा सुरक्षा चुनौती बढिरहेका बेला गत शनिबारको एटीएम प्रकरणले नेपालमा पनि बैङ्किङ क्षेत्रमा थप चुनौती थपेको छ ।
यस्तै चुनौतीबाट सजग रहन अर्थमन्त्रालयले नेपाल राष्ट्र बैङ्कले घटनाको दिनभन्दा करिब २ हप्ताअघि बैङ्किङ क्षेत्रमा हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सजग रहन पत्र पठाएको थियो । बिहीबार आर्थिक पत्रकार समाज (सेजन)को नव निर्वाचित कार्यसमिति र अर्थमन्त्री डा.युवराज खतिवडासँग भएको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले बैङ्किङ प्रणालीमा हुन सक्ने साइबर क्राइमका बारेमा सचेत रहन राष्ट्र बैङ्कलाई पत्र पठाएको बताए ।
अर्थमन्त्री खतिवडाले गत शनिबार भएको एटीएम ह्याक प्रकरणलाई स्मरण गर्दै भने, ‘मैले यस विषयमा सुरक्षा चुनौती आउन सक्छ है भनेर राष्ट्र बैङ्कलाई पत्रमार्फत सचेत गराएको थिएँ ।’ नयाँ प्रविधिी भित्र्याउँदा त्यसका बाधा तथा खराब पक्षहरु पनि हुने भएकाले ती नआउन् भन्ने चाहे पनि कतिपय अवस्थामा सम्भव नभएको उनले बताए ।
यता राष्ट्र बैङ्कले भने ह्याकिङ गर्ने काम नितान्त प्राविधिक भएकाले कतै न कतै छिटपुट घटना हुने जनाएको छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, ‘यो मुलुकमा हुन्छ भनेको काम सबै हुन्छ र, कहँि न कहीँ छिटपुट यस्ता घटना भइहाल्छ नि ।’ राष्ट्र बैङ्कले नचाहँदा नचाहँदै पनि बैङ्किङ क्षेत्रमा हुने यस्ता घटना भइरहेको उनले स्वीकारे । बैङ्किङ क्षेत्र सजग भएकै कारण चोरिएको रकम तथा चोरी गर्नेहरु पक्राउ गर्न सम्भव भएको डेपुटी गभर्नर शिवाकोटीले बताए ।
एटीएम ह्याकरले भिजा इन्टरनेसनलसँग आबद्ध नेप्सका सदस्य बैङ्कहरुको प्रयोग गरी गत शनिबार बिहान ११ः०० बजेदेखि साँझ ४ः३५ सम्ममा नेपालबाट ७ ओटा बैङ्कका विभिन्न कार्ड प्रयोग गरी १७ ओटा बैङ्कका विभिन्न स्थानका ६८ ओटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ चोरी गरेका थिए ।
त्यसैगरी, भारतबाट ६ ओटा नेपालका वाणिज्य बैङ्कहरुका विभिन्न कार्ड प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैङ्कका १३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारु गरी कुल ३ करोड ५८ लाख ८४ हजार २० नेपाली रुपैयाँबराबरको रकम झिकिएको राष्ट्र बैङ्कको अध्ययन समतिले जनाएको छ ।