काठमाडौं । अर्थतन्त्र नकारात्मक दिशातर्फ उन्मुख भएको भन्दै सार्वजनिक आलोचना हुन थालेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले स्वाँ–स्वाँ हुँदैमा बिरामी भएको भन्न नमिल्ने बताएका छन् ।
अत्यधिक दौडिदा स्वाँ स्वाँ हुन सक्छ, लामो–लामो स्वास फेर्देमा बिरामी भएको वा समस्याग्रस्त भएको भनेर निश्कर्ष निकाल्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘अर्थतन्त्रको चिन्ता गर्ने हामी छौं, व्यर्थमा चिन्ता लिएर अनुहारमा थप ‘रिङ्कल’ बसाउने काम नगर्नुस्, ।’
चालू खाता घाटामा गएको विषयलाई भने अर्थमन्त्री खतिवडाले गम्भीर रुपमा लिएका छन् । बाँकी अर्थतन्त्रका सूचक जस्तोसुकै भए पनि चालू खाता २ खर्ब रुपैयाँ भन्दा बढी गएका केही चिन्तित तुल्याएको बताए ।
‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतसम्म चालू खाता घाटामा रहँदा खासै असर पर्दैन्,’ उनले भने, ‘तर, अहिले पाँच प्रतिशत भन्दा केही बढी भएकाले चिन्तित बनाएको हो ।’ सरकारले चालू खाता घाटालाई जीडीपीको पाँच प्रतिशत भित्रै राख्ने विभिन्न उपाय अपनाएको र यो आर्थिक वर्षभित्र त्यसलाई लक्ष्य अनुरुप नै राख्ने खतिवडाले जनाकारी दिए ।
त्यसैगरी, जुन परिमाण नेपालमा रेमिट्यान्स आउनुपर्ने हो, त्यस अनुरुप नआएको पनि बताए । ‘९ खर्ब रुपैयाहाराहारी रेमिट्यान्स आएको छ,’ उनले भने, ‘तर, त्यो भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिनु पर्ने हो । आउन सकेको छैन् ।’
उनका अनुसार देशभित्र उत्पादन बढाउने हो भने आयात अनिवार्य भएको बताए । एक अर्ब रुपैयाँ बराबरको सामान उत्पादन गर्दा ५० करोड रुपैैयाँ बराबरको सामान आयात गर्नुपर्ने अहिले बाध्यता भएको खतिवडाको भनाइ छ ।
अधिकांश औद्योगिक कच्चा पदार्थ भारतसहित तेस्रो मुलुकबाट आयात गर्नुपर्छ । ‘विदेशबाट कच्चा पदार्थ ल्याएर तयारी सामान उत्पादन गर्दा देशको व्यापार घाटा भइहाल्छ,’ मन्त्री खतिवडाले भने, ‘त्यसैले कस्ता कस्ता वस्तु आयात भयो, त्यसलाई विश्लेषण गर्नु आजको आवश्यकता हो ।’
अहिले पेट्रोलियम पदार्थको आयात प्रमुख समस्या हो ।
तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात घटेको छ । अघिल्लो आर्थिक वर्ष २५ प्रतिशत आयात वृद्धि भएकोमा गत आर्थिक वर्षमा ७ प्रतिशत मात्रै भएको खतिवडाको भनाइ छ । देशभित्र पर्याप्त मात्रामा विजुली उत्पादन भएको र पेट्रोलियम पदार्थलाई विजुलीले केही हदसम्म प्रतिस्थापन गरेकाले आयात घटेको उनको भनाइ छ ।
सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने उद्देश्यले विभिन्न सुविधा दिएको व्यवसायीले पनि सोही अनुसार इलेक्ट्रिक गाडी ल्याएको खतिवडाले बताए । अहिले आयात प्रतिस्थापन पनि गर्नुपर्ने छ । उत्पादन बढाएर निर्यात पनि गर्नुपर्ने छ । आर्थिक वृद्धि पनि ८ प्रतिशत पु¥याउनुपर्ने छ । मूल्यवृद्धि सीमा भित्रै राख्नुपर्ने अप्ठयारो र असम्भव काम गर्नुपर्ने खतिवडाले जानकारी दिए ।