काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा चितवनमा औद्योगिक पार्क निर्माण हुने भएको छ । उक्त क्षेत्रलाई औद्योगिक उत्पादन, प्रशोधन तथा आवश्यक सुविधाहरुको ठूलो हबका रुपमा विकास गरिने भएको छ ।
शनिबार चीनका लागि नेपाली दूतावास र इकोनोमिक जोइन्ट कमिटि अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले संयुक्तरुपमा आयोजना गरेको नेपाल–चाइना आर्थिक तथा व्यापार सहकार्य फोरम २०१९ को कार्यक्रममा त्यस्तो बताइएको हो ।
यसै वर्षको अप्रिलमा पनि बेइजिङमा सोही किसिमको कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि उपस्थित थिइन् ।
यसअघि झापा जिल्लामा पनि नेपाल चीनको सहकार्यमा पहिलो औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ । चितवनमा यो दोस्रो औद्योगिक पार्क हो । झापामा औद्योगिक पार्क स्थापना गर्न लगानी बोर्डले ६५ अर्ब रुपैयाँ विदेशी लगानी ल्याउन स्वीकृति दिएको छ ।
चिनियाँ लगानीकर्ताले गत आर्थिक वर्षमा आधाभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लगानी स्वीकृति प्राप्त गरिसकेका छन् । चीन सरकारले नेपाललाई लगातार चार वर्षसम्म ठूलो एफडीआई प्रदान गर्ने बाचा गरेको छ ।
उद्योग विभागका अनुसार चीनले नेपाललाई गत आर्थिक वर्षमा झन्डै १२ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४० लाख अमेरिकी डलरको एफडीआई ल्याउने प्रतिबद्धता गरेको थियो । अन्तर्राष्ट्रिय मुलुकहरुले नेपाललाई २१ करोड ६० लाख डलरको एफडीआईको बाचा गरेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृह जिल्लामा औद्योगिक पार्क स्थापना गर्ने योजनाको स्वागत गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले एउटा विद्युतीय पार्क स्थापना गर्दा त्यसले लगानीकर्तालाई त्यस्तै किसिमको अन्य पार्क स्थापना गर्न आकर्षण गर्ने बताएका छन् । उनले त्यस्ता परियोजनालाई सहयोग गर्न आफ्नो मन्त्रालयले जुनसुकै किसिमको सहयोग प्रदान गर्ने बताएका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको कार्यक्रममा विभिन्न राज्यका मुख्यमन्त्रीहरुले आआफ्नो राज्यमा लगानीको अवसर रहेको बताउँदै चिनियाँ लगानीकर्तालाई लगानीका लागि आह्वान गरेका छन् ।
साथै उनीहरुले त्यसका लागि अनुकूल वातावरण पनि सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- सिन्ह्वा