काठमाडौं । बैङ्कबाट ऋण लिएर अर्को व्यक्तिलाई ऋण दिन नेपाल राष्ट्र बैङ्कले रोक लगाउने व्यवस्था गरेको छ । यदि कसैले यस्तो गरेको फेला परे त्यस्तो ऋणलाई खराब ऋणमा परिवर्तन गर्नु पर्ने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले सोमबार निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
त्यसैगरी, राष्ट्र बैङ्कले क्रेडिट कार्डका प्रयोगकर्ताले ऋण नतिरे कालो सूचीमा राख्ने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाट ऋणको उपभोग गर्ने, तर सो ऋण नतिर्नेहरुलाई कालोसूचीमा राख्ने भएको हो । यसअघि बैङ्कको ऋण लिएर तोकिएको समयमा नतिर्ने व्यक्ति तथा कम्पनीहरुलाई कालो सूचीमा राख्ने व्यवस्था थियो ।
राष्ट्र बैङ्कका अनुसार १ लाखभन्दा माथिको क्रेडिट कार्डको सूचना कर्जा सूचना केन्द्रलाई दिनु पर्नेछ । त्यस्तै, विकास बैङ्क तथा फाइनान्स कम्पनीले पनि सामूहिक लगानी कोष कम्पनी खोल्न राष्ट्र बैङ्कले बाटो खोलेको छ । यसअघि वाणिज्य बैङ्कहरुले मात्रै सामूहिक लगानी कोष कम्पनी खोल्न पाउने व्यवस्था थियो ।
त्यस्तै, राष्ट्र बैङ्कले प्राथमिकता प्राप्त कर्जाको परिभाषा संशोधन गरेको छ । हालसम्म वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीका लागि प्राथमिकताका कर्जाको परिभाषा अलग अलग थियो । राष्ट्र बैङ्कले प्राथमिकता प्राप्त कर्जाको परिभाषा सबै बैङ्क तथा वित्तीय क्षेत्रका लागि एउटै बनाएको छ ।
अबदेखि सबै बैङ्क तथा वित्तीय संस्थाका लागि प्राथमिकता प्राप्त कर्जाको परिभाषा (कृषि, जलविद्युत्, ऊर्जा, पर्यटन, निर्यात उद्योग, साना तथा मझौला, औषधि, सिमेन्ट तथा गार्मेन्टका साथै नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन तथा चार्जिङ स्टेसन हुने छ ।
त्यसैगरी, राष्ट्र बैङ्कले मर्जरमा जाने बैङ्क तथा वित्तीय संस्थाले एक वर्ष थप समय पाउने भएका छन् । एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने संस्थाका हकमा यस्तो समयावधि २०७८ असारसम्म कायम गरिएको छ ।
त्यस्तै, राष्ट्र बैङ्कले ब्याज दर घटाउन प्रिमियम दर घटाउनु पर्ने भएमा अर्द्धवार्षिकभन्दा कम समयावधिमा पनि प्रकाशित प्रिमियम दर परिवर्तन गर्न सकिने जनाएको छ ।