काठमाडौं । नेपाल राष्ट्र बैङ्कले साइबर आक्रमणबाट जोगिन बैङ्क तथा वित्तीय संस्थाहरुलाई सूचना प्रविधिमा लगानी बढाउन निर्देशन दिएको छ ।
पछिल्लो समय बैङ्किङ प्राणालीमा साइबर अपराध बढेर बैङ्किङ क्षेत्र नै असुरक्षित भएकाले सुरक्षित बनाउन सूचना प्रविधिमा लगानी बढाउन भनेको हो । बैङ्क तथा वित्तीय संस्था सूचना प्रविधिमा अझै कमजोर रहेकाले साइबर अपराध बढेको निष्कर्श केन्द्रीय बैङ्कको छ ।
गत भदौ १४ गते शनिबार चिनियाँ ह्याकरहरुले नेपालका बैङ्कका एटीएम बुथ कब्जा गरी करौडौं रुपैयाँ चोरी गरेपछि बैङ्किङ प्रणालीलाई सुरक्षित बनाउन राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेको छ ।
सो छलफलमा बैङ्क तथा वित्तीय संस्थाले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउन निर्देशन दिएको राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । उनले भने, ‘अब आईटीमा बैङ्कहरुले लगानी बढाउनु पर्यो, लोभ गर्नु भएन भनेका छौं ।’ बैङ्कले आफ्नोे कमाइ थोरै हुन्छ भनेर आईटीमा लगानी कम गर्न नहुने कुरा सुझाएको डेपुटी गभर्नर शिवाकोटीले बताए ।
‘आईटीमा अहिले धेरै लगानी गर्यो भने तत्कालका लागि नाफा नभए पनि पछिका लागि हुन्छ भनेका छौँ’, उनले भने । आईटी क्षेत्रको लगानीले भोलिका दिनमा बैङ्किङ प्रणालीमा कुनै चुनौती आउँदैन । त्यसैले पनि राष्ट्र बैङ्कले यस क्षेत्रमा लगानी बढाउन बैङ्क तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
त्यसैगरी, बैङ्ककहरुले जारी गर्ने गरेका विभिन्न प्रकारका कार्डहरु चिपमा आधारित हुनुपर्ने, बैङ्कमा सूचना प्रविधिमा राम्रो ज्ञान भएकालाई राख्नुपर्ने,बैङ्कले एटीएम बुथ स्थापना गर्दा सम्भव भएसम्म एकै ठाउँमा धेरै बैङ्कहरुले राख्नुपर्ने, एटीएम बुथमा बैङ्कहरुले निगरानी बढाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।
अहिले विभिन्न बैङ्कका कार्डहरु छुट्टाछुट्टै छन् । ती कार्डहरुमा एकरुपता ल्याउने भन्ने विषयमा पनि छलफल भएको शिवाकोटीले बताए । उनले भने,‘अब बैङ्कका कार्डहरु कमन बनाउनु पर्छ होला ।’ कमन कार्ड भएमा बैङ्किङ क्षेत्रलाई अलि सुरक्षित बनाउन सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने डेपुटी गभर्नर शिवाकोटीको भनाइ छ ।
एनआईसी एसिया बैङ्कको सिफ्ट ह्याक काण्डपछि बैङ्कहरुले सूचना प्रविधिमा लगानी बढाउन थालेका छन् । एटीएम ह्याक गरेर पैसा चोरी हुन थालेपछि चुनौती झन् थपिएको छ ।