काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्रु तीव्ररुपमा वृद्धि भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । सिङ्गो एसियाली क्षेत्र अन्तर्राष्ट्रिय उडानमा यात्रु वृद्धिदर ७.५ प्रतिशत रहँदा नेपालको भने १२ प्रतिशत रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य परिसङ्घ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको तेस्रो पूर्वाधार सम्मेलनमा आयोजित पूर्वाधार तथा क्षेत्रीय कनेक्टिभिटी सेसनमा बोल्दै मन्त्री भट्टराईले त्यस्तो बताएका हुन् ।
‘आज विभिन्न २९ ओटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले दैनिक ५५ ओटा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । अब हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप विस्तार गरेर दैनिक तीसदेखि पैंतीस ओटा उडान थप गर्ने योजनामा छौं,’ उनले भने ।
नेपाल पूर्व–पश्चिमको ट्रान्जिट हब रहेकाले पनि राजधानीसँग जोडिएको नजिकको स्थानमा अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको नयाँ विमानस्थल बनाउने योजनामा आफू रहेको बताए । नेपालले दशकौंपछि जलमार्गको योजनालाई पुनर्जीवित पारेको पनि उनले बताएका छन् ।
मन्त्री भट्टराईले क्षेत्रीय कनेक्टिभीटीका सम्बन्धमा नेपालले कलकत्ता तथा गोन्जाओ बन्दरगाहसँग सम्बन्ध स्थापित गरेको र बङ्गालदेशबाट कनेक्टिभिटीमा २३ किलोमिटर मात्र टाढा रहेको बताए ।
क्षेत्रीय कनेक्टिभिटीमा सक्रिय भूमिका खेलिरहेको बिमस्टेक, सार्क जस्ता क्षेत्रीय सङ्गठनहरुमार्फत नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।
नेपालले हाल एउटै मात्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सेवा दिइरहेको उल्लेख गर्दै उनले आगामी २०२० देखि गौतमबुद्ध विमानस्थल र २०२१ देखि पोखरा विमानस्थलबाट सेवा दिने बताए ।
हालै भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणबाट उत्तरमा नौ ओटा नाका स्थापना गर्ने विषयमा अगाडि बढेको उनले जानकारी दिए ।