काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव ८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४ दशमलव २५ प्रतिशत थियो । सरकारले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/ ७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण सन् २०२० मा प्रायः सबै मुलुकहरुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सङ्कुचित हुन पुगेको छ । आर्थिक गतिविधिमा आएको शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे । जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापनसमेत कष्टकर हुन पुग्यो रोजगारी र आयमा आएको कमीसँगै गरिबी र असमानता पनि बढेर गयो ।
कोभिड–१९ को उत्परिवर्तनले विश्वलाई आक्रान्त बनाइरहेको भए पनि यस विरुद्धको खोपको उपलब्धतासँगै आर्थिक सामाजिक गतिविधि सामान्य बन्दै गएका छन् ।
आगामी दिनमा अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम हुँदै जाने पूर्वानुमान रहे पनि रसिया युक्रेन युद्ध लम्बिन सक्ने, रसियामाथि थप प्रतिबन्ध लाग्न सक्ने र पेट्रोलियम पदार्थको मूल्यमा अप वृद्धि हुनसक्ने अनुमानका आधारमा सन् २०२२ मा विश्व अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।
चालू आर्थिक वर्ष २०७८/ ७९ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २ दशमलव ३ प्रतिशत, ८ दशमलव १ प्रतिशत र ६ दशमलव ६ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
आर्थिक वर्ष २०७८/ ७९ को कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३ दशमलव ९ प्रतिशत, १४ दशमलव ३ प्रतिशत र ६१ दशमलव ८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/ ७९ को कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६ दशमलव ९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ दशमलव १ प्रतिशत रहने अनुमान सर्वेक्षणमा गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेशगत कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रदेश नं १ मा ५ दशमलव ४१ प्रतिशत, मधेस प्रदेशमा ४ दशमलव ८२ प्रतिशत बागमती प्रदेशमा ६ दशमलव ७४ प्रतिशत, गण्डकी प्रदेशमा ६ दशमलव १७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५ दशमलव ३६ प्रतिशत, कर्णाली प्रदेशमा ५ दशमलव ४७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४ दशमलव ९२ प्रतिशत हुने अनुमान रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७७/ ७८ मा कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९२ दशमलव ३ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७८/ ७९ मा केही कमी भई ९० दशमलव ७ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६/ ७७ मा कुल लगानी २५ दशमलव ९ प्रतिशतले सङ्कुचन भएकामा पछिल्ला दुई वर्षमा यस्तो लगानी बढेको छ ।
आर्थिक वर्ष २०७७/ ७८ मा २९ दशमलव ३ प्रतिशतले वृद्धि भएको कुल लगानी चालू आर्थिक वर्षमा १८ दशमलव १ प्रतिशतले वृद्धि भई १८ खर्ब ७ अर्ब २९ करोड रुपैयाँ पुग्ने अनुमान उत्पादनसँग कुल लगानीको अनुपात ३४ दशमलव ८ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७८/ ७९ मा यस्तो अनुपातमा वृद्धि भई ३७ दशमलव ३ प्रतिशत पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ ।
आर्थिक वर्ष २०७८/ ७९ मा प्रचलित मूल्यको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १२ दशमलव ३ प्रतिशतले बढेर १ लाख ६४ हजार ५९८ पुग्ने अनुमान छ । आर्थिक वर्ष २०७७/ ७८ मा यस्तो यस्तो प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ लाख ४६ हजार ५२१ रहेको थियो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको वृद्धि, खाद्यपदार्थ तथा आयातीत कच्चापदार्थलगायत अन्य वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७८/ ७९ को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ५ प्रतिशत रहेको थियो ।
आव २०७७/ ७८ मा सङ्घ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च १४ दशमलव ४ प्रतिशतले बढेर १३ खर्ब ६२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा कुल एकीकृत खर्चमा चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चको हिस्सा क्रमशः ५४ दशमलव ४ प्रतिशत, ३६ दशमलव ५ प्रतिशत र ९ दशमलव १ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६र७७ मा यस्तो हिस्सा कमशः ५६ प्रतिशत, ३४ दशमलव १ प्रतिशत र ९ दशमलव ९ प्रतिशत रहेको थियो ।
चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ६ प्रतिशतले बढेर ६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । संघीय खर्च १८० प्रतिशतले वृद्धि भई ६ खर्ब ७४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७८/ ७९ को फागुनसम्म संघीय सरकारको बजेट घाटा २१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो घाटा २९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।