काठमाडौं । निजी लगानीमा स्थापना भएको अग्नी सिमेन्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडको कारोबार बढ्दै गएको छ । उद्योगले विभिन्न ब्रान्ड पीपीसी र ओपीसी सिमेन्ट बिक्रीबाट सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२० मा अग्नीले १ अर्ब १३ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा उद्योगको आम्दानी ३ प्रतिशतले मात्र बढी हो । सन् २०१९ मा उद्योगको आम्दानी १ अर्ब ९७ करोड २० लाख रुपैयाँ थियो । कोरोना महामारीले सिमेन्ट बिक्री घटेपछि त्यसको असर व्यापारमा परेको हो । यस्तै बजारमा तीव्र प्रतिस्पर्धाले गर्दा सिमेन्ट उद्योगहरुलाई असर गरेको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा उद्योगले १ अर्ब १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । परिमाणका आधारमा अग्नि सिमेन्टको बिक्री १७ प्रतिशतले बढेर वार्षिक १ लाख ४५ हजार ४९९ टन पुगेको छ ।
सन् २०२० मा १ लाख २४ हजार ४१७ टन सिमेन्ट बिक्री भएको थियो । मूल्य घटेर पीपीसीको प्रतिब्याग ४३६ र ओपीसीको ५३३ रुपैयाँ थियो । यस्तै सन् २०२१ मा पीपीसी र ओपीसी सिमेन्टको मूल्य प्रतिब्याग ५३० र ६०८ रुपैयाँ पुगेको छ ।
कच्चा वस्तुको मूल्यवृद्धि र प्रशासनिक खर्च बढेकाले उद्योगको नाफामा गिरावट आएको छ । यद्यपि आर्थिक वर्षको मध्यअवधिमा बिक्री बढाउने अवसर कम्पनीको वृद्धि सम्भावनाहरूको लागि राम्रो हो । यद्यपि नाफामा निरन्तर गिरावटको दबाब भने छ ।
अग्निले आफ्नो ग्राइंडिङ युनिटमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको आफ्नै क्लिंकर इकाइ छैन । उत्पादन लागत कम गर्नका लागि अग्निलाई आफ्नै क्लिंकर प्लान्ट आवश्यक छ ।
अग्निले अन्य सिमेन्ट उत्पादकहरुबाट क्लिंकर खरिद गर्ने र भारतबाट स्ल्याग र अन्य कच्चापदार्थ आयात गर्दै आएको छ । मुख्य कच्चा पदार्थका रूपमा क्लिंकर, स्ल्याग, फ्लाइस, जिप्सम कच्चा मालमा कम्पनीकाे बढी खर्च हुने गरेको छ ।
सन् २००७ मा स्थापना भएको अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ९०० टन रहेको छ । पहिला सन् दैनिक ६०० टन रहेकामा सन् २०१८ पछि ग्रान्डिङको क्षमता बढाएर ९०० पुगेको छ ।
यस्तै अग्निसँग क्लिंकर ग्राइन्डिङ गरेर सिमेन्ट उत्पादनमा ११ वर्षभन्दा बढीको सञ्चालन ट्रयाक रेकर्ड छ । एक दशकको अवधिमा कम्पनीले अग्नि, ओरियन्ट र त्रिदेव ब्रान्डकाे पीपीसी र अल्फा ओपीसी ब्रान्डकाे सिमेन्ट उत्पादन भइरहेको छ । ३१ जिल्लामा उद्योगको सिमेन्ट बिक्री हुने गरेको छ ।
सरकारले ठूला पूर्वाधारमा लगानी बढाएकाले सिमेन्टको माग अझै बढ्ने प्रक्षेपण उद्योगको छ । नेपालमा २४ करोड १० लाख रुपैयाँबराबरको ४७ हजार ८२६ टन सिमेन्ट आयात भएको कम्पनीले जनाएको छ । कम्पनीले ८० करोड २६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपाल लिमिटेडले केयर एनपी ए फोर रेटिङ दिएको छ ।
उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । उनी शुभश्री अग्नि सिमेन्टका सञ्चालक पनि हुन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छ्न् ।
