काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सिष्टम सुधारमा नलाग्दा वीरगन्जका उद्योगले दिनहुँ लाइन ट्रिपिङको मार खेप्नु परेको छ ।
एकातिर नेपालले भारततर्फ विद्युत् निकासी गर्न थालिसकेको अवस्थामा नेपालको सिष्टम सुधारमा कुनै प्रयास नगरेको वीरगन्जका उद्योगीले आरोप लगाएका छन् ।
प्राधिकरणले सिष्टम सुधार नगर्दा दैनिक रुपमा ८ देखि १० पटक लाइन ट्रिपिङ भइरहेको छ । जसले गर्दा बारा–पर्सा औद्योगिक कोरिडोरका लगभग २०० ठूला र २००० मझौला तथा साना प्रकृतिका उद्योग सञ्चालन गर्न सकस भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।
उद्योगहरुको सञ्चालनको लागि गुणस्तरीय विद्युतको नियमित आपूर्ति एक अत्यावश्यक हुन्छ । तर, वीरगन्जमा विद्युत् अनियमित हुँदा उद्योगले ठूलो क्षति ब्यहोर्नु परेको उनको भनाइ छ ।
बारा–पर्सा औद्योगिक कोरिडोरका प्रायः उद्योगहरुमा ६६ केभीएको फिडर र परवारनीपुरमा रहेको हिमाल फिडरबाट विद्युतको आपूर्ति हुने गरेको छ । तर विगतका १/२ महिनादेखि उद्योगहरु उक्त फिडरहरुबाट हुने गरेको विद्युत आपूर्तिमा गुणस्तरीयताको कमी देखिएको राजपालले बताए ।
‘दिनको ८/१० पटकसम्म ट्रिपिङ र ४/५ पटकसम्म अलि लामो समयका लागि विद्युत आपूर्ति नै बन्द हुने समस्या समान्य भइसकेको छ’ उनले भने ।
संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले यसरी विद्युत आपूर्तिमा देखिएका भोल्टेज गुणस्तरहीनता र पटक-पटकको ट्रिपिङबाट मेसनरी पार्टहरु दैनिक रुपमा खराब हुने गरेको छ । लाइन काटिने समस्याले मेसिनमा राखिएको कच्चापदार्थसमेत बिग्रिने गरेको छ ।
फलस्वरुप उद्योगहरु उपर बढ्दै गएको आर्थिक भार र उत्पादनमा ह्रासका कारण विद्युत प्राधिकरणप्रतिको सोचमा उद्यमी व्यवसायीमा नकारात्मकता अभिवृद्धि भइरहेको छ र अागामी दिनमा यसको प्रभाव पनि नकारात्मक नै हुन सक्छ ।
उद्योग हित र उत्पादकत्व अभिवृद्धिका साथै राष्ट्रको आर्थिक विकासमा भरपर्दोको सहयोगको लागि बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका विद्युत्सम्बन्धी उल्लेखित समस्याहरु समाधानको लागि सम्भवतः छिटोभन्दा छिटो पहल संघले माग गरेको छ ।