काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भयो।
राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमूलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिँदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरे । त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमतिसमेत भएको छ ।
राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए । ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो ।
प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगति, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिँदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।
‘ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ । हाम्रो ज्ञान, र प्रविधि नेपालको कृषि क्षेत्रको विकास लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौं’, उनले भने । ब्राजिलले विकाससिल मुलुकका लागि दिँदै आएको छात्रवृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने उनको भनाइ छ ।
छलफलमा नेपालबाट निर्यात हुने हस्तकला सामग्रीको प्रबर्धन, दुई देशबीच पर्यटन प्रबर्धनमा पनि सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको जनाएको छ । यसका लागि नेपाली निजी क्षेत्र र ब्राजिलको निजी क्षेत्रसँग समन्वय गराउनसमेत आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, कृषिपरिषद् सभापति विकास दुगडसहित राहुल अग्रवाल, हितेश गोल्छा, सागर गौतम, सतिश श्रेष्ठ, महानिर्देशक दीपकराज जोशी सहभागी थिए ।