काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आव २०७८÷७९ को वार्षिक प्रस्तुतीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर, हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हत्कडी लाउनसमेत तयार हुनुपर्छ ।’
जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौं पुरानो ३५ दिने सूचना निकाल्ने, लो बिडमा ठेक्का दिने, त्यसपछि सेटिङ र कमिसनमा जाने, डीपीआर सक्न महिनौं लगाउने, काम समयमा सुरु नगर्ने, पैसा लिइहाल्नेजस्ता काममा लागेकाले यसरी मलुक नबन्ने बताए ।
‘३५ दिने सूचना अवधिलाई ७ देखि १० दिनमा झारौं,’ उनले भने, ‘कम्तीमा २० दिनमा काम सुरु गरौँ । ठेकेदारले आयोजनालाई दुहुनो गाई बनाउने काम तत्काल रोकौँ ।’
पहिला सहर बसाएर मात्रै डीपीआर गर्ने प्रचलन रहेको बताउँदै मन्त्री चौधरीले नयाँ ठाउँमा नयाँ सहर बनाउने र डीपीआर पूरा गरेपछि मात्र व्यवस्थित संरचना बनाउन सुरु गर्नुपर्ने धारणासमेत राखे ।