काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सिस डोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहेका स्थानीयवासीलाई अवराेध नगर्न आग्रह गरेका छन्। नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नाे धारणा राख्दै फाेहाेर फाल्न दिन आग्रह गरेका हुन् ।
'काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ,' उनी लेख्छन् 'अतः सिस डोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु। कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।'
प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोशित हुनु स्वभाविक भएकाे बताउँदै नेता थापाले सम्झौता कार्यान्वयन गर्नका लागि महानगर प्रमुख लागेकाे बताए । महानगरकाे पूरा टिम लागेकाले यस पटक माग पूरा हुनेमा आफू विश्वस्त रहेकाे उनले बताए ।
'कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय छन्। संघीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो,' उनले भनेका छन्।
प्रधानमन्त्रीलाई भेटेर आफूले भनेकाे बताउँदै थापाले भने 'प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पुरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ।हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ।'
