काठमाडाैं । लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गरेर अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरुबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको छ ।
उनीहरूबाट लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ तथा १७ थान मोबाइल पनि बरामद गरिएको छ । यस्तै, पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हेरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागु औषध ऐन बमाेजिम म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको छ ।
उनीहरुको साथबाट बरामद भएको कुल लागु औषधको अवैध बजार मूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
