काठमाडाैं । काठमाडौं विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरू गरेको छ ।
‘स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिकल साइन्सेज’ले संयुक्तरूपमा ‘योगिक साइन्स र वेलविइङ’ विषय सुरु गरेको हो । उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कुल अफ आर्टसले गरेको विश्वविद्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रियरूपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यतासमेत विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन सुरू गरेको जनाएको छ।
विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँगै संयोजन गर्दै सकारात्मक सोच, नैतिकता, निष्ठा र विश्वमा आत्मीय सौहार्दपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको विश्वविद्यालयले जनाएको छ।
अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकुल तथा योग संस्थामा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नसिप तथा अनुसन्धान गर्ने अवसर पाउने विश्वविद्यालयले जनाएको छ।
अरू विश्वविद्यालयको तुलनामा योगसँग सम्बन्धित व्यापक र गहन विषय समावेश गरी योगलाई अनुसन्धान र प्रविधियुक्त बनाउन लागिएकाले उच्च शिक्षामा गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताइएको छ ।