काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकमा घर जग्गा कारोबारबाट ३२ अर्ब राजस्व संकलन भएको छ। चालू आवको दोस्रो चौमासिक अर्थात् साउनदेखि फागुन मसान्तसम्ममा घरजग्गा कारोबारबाट उक्त राजस्व संकलन भएको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता हरिप्रसाद पन्तका अनुसार चालू आवको दोस्रो चौमासिकमा ३१ अर्ब १२ करोड रुपैयाँ राजस्व उठेको छ। विभागका अनुसार सबैभन्दा धेरै राजस्व पुसमा उठेको छ। सबैभन्दा कम कात्तिकमा उठेको छ। पुसमा पाँच अर्ब १७ करोड रुपैयाँ उठेकोमा कात्तिकमा दुई अर्ब ७५ करोड असुली भएको छ।
यसैगरी, चालू आवको दोस्रो चौमासिकमध्ये दुई महिना असोज र कात्तिकको राजस्व तीन अर्बभन्दा तल छ। साउन र भदौको राजस्व चार अर्ब रुपैयाँभन्दा कम छ। यस्तै, मंसिर र फागुनको राजस्व पाँच अर्बभन्दा थोरै छ। पुस र माघको राजस्व पाँच अर्बभन्दा धेरै छ।
विभागका अनुसार साउनमा तीन अर्ब २८ करोड राजस्व संकलन भएकामा भदौमा सामान्य गिरावट आएर तीन अर्ब १४ करोडमा झरेको छ। यस्तै, असोजमा झनै गिरावट आई दुई अर्ब ७५ करोडमा झरेको राजस्व कात्तिकमा पनि उस्तै छ।
घर जग्गा कारोबारको मौसम सुरु हुने मंसिरमा राजस्व बढेर चार अर्ब ८४ करोड पुगेको छ। पुसमा झनै वृद्धि भई पाँच अर्ब १७ करोड भएको छ। यस्तैगरी माघमा पाँच अर्ब संकलन भएको राजस्व फागुनमा आउँदा चार अर्ब १४ करोडमा झरेको छ।
विगतमा घरजग्गा कारोबार उच्च दरले बढ्दा राजस्व पनि धेरै संकलन हुने गरेको थियो। कोभिड महामारीपछि घरजग्गा कारोबार शिथिल बनेपछि राजस्व संकलन पनि धेरै हुन सकेको छैन।
विभागका प्रवक्ता पन्तले घरजग्गा कारोबारको गति मुलुकको अर्थतन्त्रले निर्धारण गर्ने बताए। ‘अहिले अर्थतन्त्र सुस्त छ। यसको प्रभाव घरजग्गा कारोबारमा परेको छ,’ प्रवक्ता पन्तले भने,‘नयाँ सरकार गठनसँगै राजनीतिक स्थिरता हुँदा अर्थतन्त्र चलायमान हुने र यसको सकारात्मक प्रभाव घरजग्गा कारोबारमा पर्नेछ।’
प्रवक्ता पन्तले भू-उपयोग नीतिअनुसार सबै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण कित्ताकाटमा समस्या आउँदा घरजग्गा कारोबारमा सुधार आउन नसकेको बताए। उनका अनुसार यही कारण सरकारले गत कात्तिकबाट कित्ताकाटलाई सजिलो बनाएको हो।