काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले नेपालको आर्थिक वृद्धि राम्रो हुने प्रक्षेपण गरेको छ । सन २०२० मा नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने अनुमान एडीबीको छ । एडीबीले शुक्रबार नेपालको वृहत आर्थिक अवस्थाको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीमा बढोत्तरी भएमा आर्थिक वृद्धि प्रक्षेपण गरिएको भन्दा पनि बढी हुने एडीबीको अनुमान छ ।
यो बर्ष सार्वजनिक खर्चमा वृद्धि, अनुकुल मौसम, ठुला परियोजनामा लगानी र पर्यटक आगमनमा वृद्धि भएमा नेपालको अर्थतन्त्र सोचे भन्दा बढीले विस्तार हुने एडीबीका देशिय निर्देशक मुक्दर खामदुनखाभले बताए । गत असारमा बाढीले ठुलो क्षति गरेपछि कृषि क्षेत्रको विस्तार भने खुम्चिनिने अनुमान एडीबीको छ ।
निरन्तर बिजुलीको आपूर्ति, लगानीमैत्री वातावरणमा सुधारले यो वर्ष औद्योगिक विस्तार ७.९ प्रतिशत हुने एडीबीले जनाएको छ । सेवा क्षेत्र पनि ६.९ प्रतिशत हुने अनुमान छ ।
थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्तता र पर्यटन क्षेत्रमा देखिएको सुधारले यो वर्ष पनि सेवा क्षेत्रको विस्तार राम्रो हुने अनुमान एडीबीको छ । मूल्यवृद्धि गत वर्षको तुलनामा बढेर ५.५ प्रतिशत पुग्ने देखिएको छ । भारतमा पनि भाउ बढेकाले नेपालमा यसको असर पर्ने एडीबीको विश्लेषण छ । गत वर्षको तुलनामा बजेट घाटा कम भएपनि यो वर्ष ५.१ प्रतिशत हुने देखिएको छ । गत वर्ष ६.७ प्रतिशत थियो ।
व्यापार घाटा बढ्दै गएकाले यो वर्ष वाह्य क्षेत्रमा जोखिम रहेको एडीबीले औल्याएको छ । व्यापार घाटाले वाह्य क्षेत्रलाई अस्थिर बनाएको छ । चालु खाता घाटा कम भएर कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ७.७ प्रतिशत रहने अनुमान छ । गत वर्ष ८.२ प्रतिशत थियो ।
चालु आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत वर्ष ७.१ प्रतिशत आर्थिक विस्तार भएको अनुमान गरिएको छ ।