काठमाडाैं। राष्ट्रिय बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।
उक्त सम्मेलनमा नबिल जेन अल्फाका ब्रान्ड एम्बास्डर र समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानालगायतकाे उपस्थिति थियाे।
बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए। ‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नको लागि एपले मद्दत गर्नेछ,’ पौड्यालले भने ‘एप मार्फत् बच्चाहरूले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन्।’
एप सार्वजनिक कार्यक्रममा सीईओ ढुंगानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए। ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फामार्फत् डिजिटल खुत्रुकेमा राख्न सक्छन्,’ ढुंगानाले भने ‘बालबालिकाले यस एप मार्फत् खेल्दै पैसा बचत गर्न सिक्नेछन्।’
‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकलक्ष्य गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो। अभिभावकले एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्।
बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान छ। स्किममार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउनेलक्ष्य बैंककाे छ ।
कार्यक्रममा बैंकका बरिष्ठ डेपुटी सीईओ सुजितकुमार शाक्यले जेन अल्फा नबिलले परिकल्पना गरेको नयाँ पुस्तालाई सम्वृद्ध बनाउने बचत खाता भएको बताए। बच्चाहरुको मोबाइल समयलाई सकारात्मक र केही सिक्नको लागि एपले सहयोगी भूमिका खेल्ने उनकाे भनाइ छ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले नबिल बैंकले बाल दिवसको दिन बालबालिकालाई केन्द्रित गरेर जेन अल्फा ल्याएको र वित्तीय साक्षरता सिकाउने काम धेरै महत्वपूर्ण भएको बताए ।
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोध तथा उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने नबिल बैंककाे विश्वास छ।
जेन अल्फाको ब्रान्ड एम्बास्डर प्रेन्सा रेग्मीले जेन अल्फाले आफूहरुजस्ता बालबालिकाले मोबाइलबाट खेल्ने मात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताइन्।
बैंकका अनुसार योजनाअन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रूपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन् ।
यस्तै बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा तथा बालबालिकाहरुलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने बैंकले बताए । काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको बैंकले जनाएकाे छ ।
नेपाली रुपैयामा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरू समाहित हुन सक्नेछन् ।