काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा तथा निक्षेप सुरक्षण कोष (डिसिजीएफ)लाई डिपोजिट निक्षेप बिमा गरेर मात्र नहुने बताएका छन् ।
कोषको ४९औं वार्षिक उत्सव कार्यक्रमा गभर्नर अधिकारीले डिसिजीएफले डिपोजिट निक्षेप बिमा गरेर मात्र नहुने बताएका हुन् ।
स्थापनाको ४८ वर्षमा करिब २२ प्रतिशत डिपोजिट इन्स्योरेन्स गरेको कोषले आफ्नो उद्देश्य र जिम्मेवारीअनुसार काम गर्न नसकेको अधिकारीकोे भनाइ छ ।
उनले समस्या ग्रस्त बैंक तथा वित्तीय संस्थाको उद्धार गर्ने जिम्मा डिसिजीएफले लिनुपर्ने अधिकारीले बताए । एफडिआइसी अगाडि फाइनान्सियल सिस्टममा गाह्रो परेको ठाँउमा त्यसको व्यवस्थापन, रिजुलेसनको कामसमेत कोषले गर्नुपर्ने अधिकारीको भनाइ छ ।
साथै, अधिकारीले भविष्यमा समस्या ग्रस्त घोषणा हुने बैंक तथा वित्तीय संस्थाहरूको उद्धार गर्ने कामतर्फको रणनीतिक योजना बनाउन डिसिजीएफलाई निर्देशन दिएका हुन् ।
‘कोषका अन्य जिम्मेवारी छन, त्यसमध्ये खास जिम्मेवारीमा समस्यामा रहेका वित्तीय संस्थाको उद्धार हो । तर, अहिलेसम्म कोषको ऐन, कार्यविधि, नियमावली, विनियमावली उल्लेख भएको पाइँदैन, भविष्यमा कोषले आफ्नो रणनीति बनाइ राख्दा यी कुराहरलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।’
राष्ट्र बैंकले हालसम्म १५ वटा वित्तीय संस्थाहरूलाई समस्या ग्रस्त घोषणा गरेको अधिकारीले बताए । राष्ट्र बैंकले ती समस्या ग्रस्त संस्थाको उद्धार गरिरहेको र भविष्यमा कोषले त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।