काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ४२५ मेगावाटका ५ ओटा आयोजना निर्माण गर्ने भएको छ । २७० मेगावाटका ४ आयोजना निर्माण गरिरहेको चिलिमेले थप आयोजना बनाउने तयारी थालेको हो ।
नयाँ आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको चिलिमे हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।
उनले सबै आयोजना सहायक कम्पनीमार्फत निर्माण गर्ने जानकारी दिए । यी आयोजना सरकारको जनताको जलविद्युतमा परेका छन । आयाजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ ।
कोइरालाका अनुसार सुदुरपश्चिमको बझाङमा रहेको ६५ मेगावाटको सेती नदी ३, २२० मेगावाटको बुढीगण्डकी प्रोक क्यासकेड, बुढीगण्डकीको सहायक नदी टमखोलाको ८० मेगावाट र गोरखामा रहेको ६० मेगावाटको स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको छ ।
सेती नदी आयोजना आगामी वर्षदेखि निर्माण थाल्ने तयारी चिलिमेको छ । यो वर्ष डीपीआर तयारी, नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए), लगानी जुटाएर आगामी वर्षदेखि सिभिल निर्माणको काम अघि बढाउने उनले जानकारी दिए । उनका अनुसार आयोजना आर्थिक रुपमा आर्कषक देखिएको छ ।
बुढीगण्डकीमा रहेको २ आयोजना एकैपटक निर्माण गर्ने तयारी चिलिमेको छ । क्यासकेड आयोजनाको डीपीआरका लागि अध्ययन सुरु भएको छ । नेपाली सेनाले सडक निर्माण गरिरहेको छ । २ वर्षभित्र सडक पुग्नुका साथै डीपीआरलगायत अन्य काम सम्पन्न हुने उनले सुनाए ।
टमखोला र स्यारखोलाको पनि संभाव्यता अध्ययनको काम सुरु भएको छ । यी दुबै खोला बुढीगण्डककीको सहायक नदी हुन । आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ । यसअघि ४ आयोजनामा सञ्चय कोषको ऋण लगानीमा निर्माण भएको हो ।
१११ मेगावाटको रसुवागढी र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना आउँदो असारसम्म सम्पन्न हुने छ । यस्तै ४२ मेगावाटको तल्लो सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोसी आयोजनाले डेढ वर्षभित्र बिजुली उत्पादन गर्ने छन् । कम्पनीले हाल २२ मेगावाटको चिलिमे आयोजना सञ्चालन गरिरहेको छ ।
सञ्चालनमा रहेको, निर्माणधिन र निर्माणको तयारीमा रहेका गरी चिलिमेका १० आयोजनाको जडित क्षमता ७१७ मेगावाट पुग्ने छ ।
चिलिमेले चालु आर्थिक वर्षदेखि २० प्रतिशत संस्थागत कर (कर्पोरेट ट्क्यास) तिर्न थालेको छ । यसअघि १५ वर्षसम्म कर्पोरेट कर सहुलियत पाएको छ । चिलिमेले गत आर्थिक वर्षमा ७१ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९२ करोड ८३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
संस्थागत कर र रोयल्टी खर्च बढेपछि नाफा घटेको हो । २० प्रतिशत संस्थागत कर र प्रतिकिलोवाट १ हजार रुपैयाँका दरले रोयल्टी तिर्नुपर्ने छ ।
गत वर्ष चिलिमेले बोनस सेयर र नगद गरी सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएको थियो । यो वर्ष घोषणा गरेको छैन । नाफा कम भएकाले यो वर्ष सेयरधनीले पाउने लाभांश पनि घट्ने भएको छ ।
रसुवागढीलगायत निर्माणधिन आयोजना सम्पनन भएपछि सहायक कम्पनीहरुबाट लाभांश आउन थालेपछि चिलिमेको नाफा बढ्ने छ ।