काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा आगामी अगष्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने जानकारी दिएका छन्।
यो सोमबारदेखि ट्रम्पले जारी गरेका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो। जसमा उनले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राखेका थिए।
क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन्। तर, पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिन्छ।
युएसएमसिए भनिने तीन मुलुकलाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पुनः वार्ताका लागि सफलतापूर्वक दबाब दिएपछि अमेरिका-मेक्सिको-क्यानाडा सम्झौताले सन् २०२० जुलाईमा अघिल्लो नाफ्टा सम्झौता प्रतिस्थापन गरेको थियो।
अर्को वर्ष जुलाईसम्म यसको समीक्षा हुने तय थियो। तर, ट्रम्पले जनवरीमा पदभार सम्हालेपछि आफ्नो व्यापार युद्ध सुरु गरेर प्रक्रियालाई अव्यवस्थित बनाएका थिए। क्यानाडा र मेक्सिकोका उत्पादनहरू सुरुमा क्यानाडाली ऊर्जाका लागि कम दरका साथ २५ प्रतिशत अमेरिकी भन्सार शुल्कले नराम्ररी प्रभावित भएका थिए।
ट्रम्पले दुवै छिमेकीलाई निशाना बनाएर अवैध आप्रवासन र सीमापार अवैध लागुऔषधको प्रवाहमा पर्याप्त काम नगरेको बताए।
तर अन्ततः उनले युएसएमसिएअन्तर्गत आफ्नो देशमा प्रवेश गर्ने सामानका लागि छुटको घोषणा गरे। जसले उत्पादनहरूको ठूलो भागलाई समेटेको थियो।
बिहीबारको पत्र ट्रम्प र कार्नीबीच न्यानो सम्बन्धका बावजुद आएको हो। कार्नीले क्यानाडा अमेरिकाको ५१औँ राज्य बन्नुपर्छ भन्ने आफ्ना समकक्षी ट्रम्पको नियमित विचारको सामना गरिरहेका छन्।