काठमाडौं। गएको भदौमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाउने निर्णय गरेको थियो। कार्यालयले राइड सेयरिङ एप कम्पनीहरूलाई पत्र लेख्दै दुर्घटना हुने सम्भावना बढी हुने भन्दै स्ट्यान्ड हटाउन निर्देशन दिएको थियो।
दुर्घटनाको जोखिम बढाएकाले तथा कानुनतः स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको पुष्टि हुने भन्दै बाइकहरूमा स्ट्यान्ड र मोबइल अड्याउने कुनै प्रकारका वस्तु नराख्न ट्राफिक प्रहरी कार्यालयले निर्देशन गरेको थियो। कानुनतः बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) भएको ठहरिन्छ।
सवारीसाधनको स्वरूप फेर्ने, रङ बदल्ने, नयाँ पाटपूर्जा थपघट गर्ने काम कानुनले निषेध गरेको छ। सवारीसाधन चलाउँदा मोबाइल फोन प्रयोग गर्न नपाइने कानूनी व्यवस्था छ। यदि यस्तो नियम उल्लंघन गरेमा ५ सयदेखि २ हजारसम्म र अटेरी गरेर दोहोर्याएमा ५ देखि २० हजारसम्म जरिवाना हुनसक्ने नियम छ। तर लामो समय पठाओ, राइडर र फुडम्यानहरुले मोबाइल स्ट्याण्ड राखेर गुगल म्याप प्रयोग गरेका थिए ।
गएको भदौबाट मात्र ट्राफिक प्रहरीले यसमा रोक लगाएको हो। तर यसमा रोक लगाएको भएपनि पूर्ण रुपमा निशेध भने प्रहरीले गर्न सकेको छैन । यसो त सार्वजनिक सवारीसाधनका चालकहरुनै सवारी चलाएको समयमा मोबाइल प्रयोग गर्ने, फोनमा कुरा गर्ने कार्य अधिक मात्रामा हुँदै आएकै छ । जसले गर्दा कतिपय समयमा दुर्घटना निम्त्याएको छ।
ट्राफिक प्रहरी कार्यालयले भदौबाट गरेको यो निर्णयले पठाओ, राइडर र फुडम्यानहरूलाई असर गरेको गुनासो गर्दै आएका छन्। राइडरहरूले मोबाइल स्ट्यान्डमा राखेर गुगलको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा पुग्दै आएका थिए। तर यसमा लगाइएको रोकको कारणले आफूहरूलाई आफ्नो कार्य सञ्चालन गर्न असहज भएको उनीहरूको गुनासो छ।
विगत एक वर्ष देखि पठाओ सञ्चालन गर्दै आएका पासाङ शेर्पा स्ट्यान्ड राख्न नपाउँदा आफूहरुले गन्तव्यमा पुग्न असहज भएको र ठाउँठाउँमा साधन रोकेर हेर्दै मोबाइल राख्नुपर्ने बताए। ट्राफिक प्रहरीले लगाएको नियम एक प्रकारले उचित भएको भएपनि राइट सेयरिङहरुका लागि भने यसलाई रोक्न नहुने उनको गुनासो छ।
राइड सेयरिङ एप कम्पनीहरुको गुनासोबारे छलफल भएको छैन : ट्राफिक प्रहरी
मोबाइले स्ट्यान्डमा रोक लागेपछि राइड सेयरिङ एप कम्पनीहरु तथा त्यसमा आवद्ध व्यक्तिहरुले गुनासो गर्दै ट्राफिक प्रहरीले यस निर्णयबारे राइडरहरुको हकमा पुनर्विचार गर्ने आशा व्यक्त गरेका थिए। तर ट्राफिक प्रहरीले भने यसको विषयमा कुनै छलफल नगरेको देखिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी उपरीक्षक अवदेश बिष्टले पठाओ, राइडर र फुडम्यानहरुको लागि उक्त नियम लगाउँदा कठिनाई भएको भन्ने गुनासो आएको तर त्यसको विकल्प वा के गर्ने विषयमा छलफल नभएको जानकारी गराए।
‘विशेषगरी नेपाल जस्तो देशमा सवारीसाधनमा मोबाइल राखेर मोबाइल हेर्दै र सवारीसाधन चलाउँदै गर्दा दुर्घटनाको जोखिम बढी भयो। त्यसैले हामीले यसमा रोक लगाएका हौं,’ सह–प्रवक्ता बिष्टले भने, ‘यही कुरालाई मध्यनजर गर्दै हामीले मोबाइले स्ट्यान्डको प्रयोगमा रोक लगाएका हौं। केही गुनासोहरू रहेको भन्ने जानकारी आएपनि आफूहरूबीचमा यसबारे कुनै छलफल भएको छैन।’ उनका अनुसार हालसम्म यसको विकल्पको विषयमा पनि ट्राफिक प्रहरी कार्यालयले सोचेको छैन।