काठमाडौं। विश्वप्रसिद्ध डेनिस पेय पदार्थ समूह कार्ल्सवर्गले नेपालमा थप १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजसँगको साझेदारीमा गरिने यो लगानीले नेपाली अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
राजधानीमा आयोजित एक विशेष कार्यक्रममा कार्ल्सवर्ग ग्रुपका अध्यक्ष हेनरिक पाउलसनले नेपाललाई लगानीका लागि आकर्षक गन्तव्य भएको बताए। "हामीले आज नेपालका सरकारी प्रतिनिधिसँग कुरा गरेका छौं र लगानीका लागि सहमति पनि भएको छ" उनले भने।
सन् १९८८ मा नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीमध्ये एकको आधारशिला राखिएको थियो — गोर्खा ब्रुअरी प्रालिको स्थापनासँगै। यो कार्ल्सवर्ग ब्रुअरिज, कोपनहेगन र नेपालको अग्रणी व्यापारिक घराना खेतान ग्रुपबीचको संयुक्त लगानीमा स्थापित भएको थियो। कार्यक्रममा गोर्खा ब्रुअरीको विकासक्रम पनि देखाइएकाे थियाे। १९८९ मा ब्रुअरी निर्माण शुरु भएपछि नेपालको पेय पदार्थ उद्योगले एउटा नयाँ युगमा प्रवेश गर्यो।
टुबोर्ग: नेपालको पहिलो अन्तर्राष्ट्रिय बियर
सन् १९९० मा टुबोर्गको लन्चसँगै नेपालमा पहिलो अन्तर्राष्ट्रिय बियर ब्रान्डको युग शुरु भयो। एउटा विदेशी ब्रान्डको पहिलो प्रवेश कहिलेकाहीँ बाजारले स्वीकार नगर्न सक्छ, तर टुबोर्गले भने नेपाली उपभोक्ताको मन जित्यो। सन् १९९५ मा कार्ल्सवर्ग आफैँ नेपाली बजारमा आयो र सन् २००२ मा रोयल डेनिस टुबोर्ग स्ट्रङ लन्च भयो। यसरी एकपछि अर्को ब्रान्डले नेपाली बजारमा जरो गाड्दै गयो।
सन् १९९८ सम्म आइपुग्दा गोर्खा ब्रुअरी प्रालि नेपालको बियर बजारमा नम्बर एकको स्थानमा पुगिसकेको थियो। सन् २००९ मा कम्पनीलाई "कम्पनी अफ द इयर" को सम्मान पनि प्राप्त भयो।
सन् २००७ मा गोर्खा ब्रुअरीले आफ्नै स्थानीय ब्रान्ड "गोर्खा बियर" लन्च गर्यो, जुन आज नेपालमा मात्रा र मूल्य दुवै हिसाबले नम्बर एकको ब्रान्ड बनेको छ। विदेशी ब्रान्डका लागि परिचित एउटा कम्पनीले आफ्नो देशको नाम राखेको ब्रान्ड बजारको शीर्षमा पुर्याउनु आफैँमा एउटा उल्लेखनीय उपलब्धि हो। सन् २०१३ मा गोर्खा स्ट्रङ, सन् २०१४ मा टुबोर्ग ३ जी र सन् २०१६ मा सोमर्सबी साइडरको लन्चले कम्पनीको उत्पाद विविधीकरणको यात्रालाई अझ विस्तृत बनायो।
सन् २०१० मा कार्ल्सवर्ग ग्रुपले व्यवस्थापन नियन्त्रण लियो र सन् २०२४ मा आधिकारिक रूपमा गोर्खा ब्रुअरीको पूर्ण अधिग्रहण सम्पन्न भयो। यो अधिग्रहण नेपालको इतिहासमा सबैभन्दा ठूलो कर्पोरेट शेयर कारोबारमध्ये एकको रूपमा परिचित छ, जसको मूल्य करिब ७४४ मिलियन अमेरिकी डलर अर्थात् लगभग १०० अर्ब रुपैयाँ बराबर थियो। यसरी गोर्खा ब्रुअरी पूर्णतः एक बहुराष्ट्रिय नियन्त्रित संस्था बन्यो।
कार्ल्सवर्ग र गोर्खा ब्रुअरीले नेपाली अर्थतन्त्रमा पुर्याएको योगदान केवल बियर उत्पादनमा सीमित छैन। कार्ल्सवर्गको गोर्खा ब्रुअरीमा लगानी नेपालको सबैभन्दा ठूलो वैदेशिक प्रत्यक्ष लगानीमध्ये एक हो र गोर्खा ब्रुअरी राष्ट्रिय ढुकुटीमा योगदान गर्ने शीर्ष पाँच निजी क्षेत्रका कम्पनीमध्ये एक हो। टुबोर्गले नेपालको कुल बियर बजारको करिब ५० प्रतिशत हिस्सा ओगटेको छ। समग्रमा गोर्खा ब्रुअरी नेपालको बियर बजारमा ८० प्रतिशतभन्दा बढी हिस्सा राख्छ।
टाइमलाइनले देखाएअनुसार सन् २०२५ मा राज ब्रुअरीको अधिग्रहण र स्थानीय ड्राफ्ट उत्पादन शुरु भइसकेको छ भने सन् २०२६ का लागि सीइइआई क्षेत्रको "कम्पनी अफ द इयर" र गोर्खा स्ट्रङ अनफिल्टर्डको लन्चजस्ता महत्वाकांक्षी लक्ष्य तय गरिएका छन्। सन् १९८८ मा एउटा संयुक्त लगानीको रूपमा शुरु भएको यात्रा आज विश्वकै एक प्रमुख पेय पदार्थ समूहको नेपाल केन्द्रको रूपमा परिणत भएको छ र अब थप १० अर्बको नयाँ प्रतिबद्धतासँगै यो यात्रा अझ विस्तृत हुन गइरहेको छ।