काठमाडौं । चाडपर्वमा अत्यधिक खपत हुने ड्राइ फ्रूट्समा व्यापारीले चरम कालोबजारी गरेको पाइएको छ । भन्सार मूल्य र उपभोक्ताको खरिद मूल्यलाई आधार मान्दा ड्राइ फ्रूड्समा अत्याधिक नाफा लिएको पाइएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा १ लाख ८८ हजार ६ सय २० केजी काजु भित्रिएको छ । सो परिमाणको काजु आयात गर्दा भन्सारमा दाखिला गराएको मूल्य १७ करोड ८९ लाख ९२ हजार रुपैयाँ छ । त्यसबाट सरकारले ४ करोड २९ लाख ५२ हजार रुपैयाँ राजस्व लिएको छ । सरकारले लिएको भन्सार र दाखिला गरिएको मूल्य जोड्दा २१ करोड १९ लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसलाई आधार मान्दा व्यवसायीहरुले काजु आयात गर्दा प्रति किलो १ हजार १ सय २३ रुपैयाँ पर्ने देखिन्छ ।
उपभोक्ता ऐन अनुसार २० प्रतिशतसम्म नाफा राखेर सामान बिक्री गर्न पाउने व्यवस्था छ । तर, बजारमा झण्डै दोब्बर मूल्य प्रतिकेजी २ हजार रुपैयाँभन्दा बढी काजु बिक्री भइरहेको छ । त्यसैगरी भन्सार विभागको तथ्यांक अनुसार गत आवमा ५ हजार ८ सय ८७ किलो पेस्ता आएको छ । व्यापारीले भन्सारमा दाखिला गराएको पेस्ताको मूल्य ४० लाख ४ हजार रुपैयाँ छ । त्यसमा सरकारले १२ लाख ६२ हजार रुपैयाँ राजस्व लिएको छ । यसलाई आधार मान्दा उक्त परिमाणको पेस्ता आयात गर्दा ५२ लाख ६६ हजार रुपैयाँ परेको देखिन्छ । सो अनुसार प्रतिकेजी पेस्ता ८ सय ९४ रुपैयाँमा नेपाल भित्रिएको छ । उक्त मूल्यमा २० प्रतिशत नाफा जोड्दा १ हजार ७२ रुपैयाँ किलोमा पाउनुपर्नै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए । तर, अहिले बजारमा प्रतिकिलो १ हजार ९ सय ७५ रुपैयाँमा पेस्ता बिक्री भइरहेको छ ।
इ सेवा पसल डटकमले आफ्नो साइटमा सोहि मुल्य अनुसार काजु, पेस्ता बिक्री गरिरहेको छ । त्यसैगरी, आल्मन्डको उपभोक्ता मूल्य १ हजार ५ सय रुपैयाँभन्दा बढी छ । जब किभन्सार पास भएर नेपाल आएको आल्मन्डको मूल्य प्रतिकिलो ७ सय ९३ रुपैयाँ मात्र पर्छ । गत आर्थिक वर्ष १ हजार ४ सय ७६ केजी आल्मन्ड नेपाल भित्रिएको छ । सो परिमाणको आल्मन्ड ल्याउदा ११ लाख ७१ हजार लगानी भएको छ । सो अनुसार आल्मन्डको ९ सय ५१ रुपैयाँ प्रतिकेजी खुद्रा मुल्य हुनुपथ्र्यो । त्यस्तै ४ सय २० रुपैयाँ केजीमा नेपाल भित्रिएको ओखरको खुद्रा मुल्य १ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।
उपभोक्ता संरक्षण ऐनमा २० प्रतिशतसम्म नाफा लिन पाउने व्यवस्था छ । तर, व्यापारीले तीन सय प्रतिशतसम्म मूल्य बढाएर ड्राइ फ्रूड्स बिक्री गरिरहेका छन् । बजारमा खुलेआम कालाबजारी हुँदा पनि अनुगमनकारी निकायले व्यपारीसँग मिलेमतो गरेर बेवास्ता गरेको उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । तर, बाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ड्राइ फ्रूड्सहरु न्यूनविजकीकरण भएर नेपाल भित्रिने गरेकाले अनुगमन गर्न नसकिएको बताए । ‘बजारमा विक्री भइरहेका ड्राइ फ्रूड्स तीन सय प्रतिशत होइन्, ९ सय प्रतिशतभन्दा बढी मूल्यमा बेचिरहेका छन्,’ उनले भने, ‘न्यून विजीकरणबाट सामान भित्रिने र वास्तविक मूल्यमा सामान नआउने अहिलेको समस्या हो ।’
उनका अनुसार उपभोक्ता संरक्षण ऐन अहिले संशोधनको क्रममा छ । त्यसपछि नाफा कति प्रतिशतसम्म तोक्ने भन्ने निक्यौल हुन्छ । उनले भने, ‘त्यही भएर यस्ता सामग्रीको अनुगमनगर्न सकिएको छैन ।’