काठमाडौं । अवरुद्ध २२० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणले गति पाएको छ । म्याग्दीको दानादेखि नवलपरासीको वर्दघाटसम्म १४२ किलोमिटर लामो प्रसारणलाइनको क्षेत्रमा रुख कटान र जग्गा अधिग्रहणको काम अघि बढेको छ ।
कुश्मा नगरपालिका खुर्कोट खण्डको काम पनि अन्तिम चरणमा छ । विद्युत् टावर निर्माण गर्न कुश्मा न्यु बुटवल खण्डमध्ये पर्वतका १ सय ९२ जना जग्गाधनीको जग्गा अधिग्रहण गर्ने प्रकृया अघि बढेको आयोजनाले जनाएको छ । दानादेखि बर्दघाटसम्म कुल १ सय ४२ किलोमिटरमा उक्त प्रसारण लाइन निर्माण हुँदैछ ।
बन क्षेत्रमा पर्ने जग्गाको प्रयोग मन्त्रिपरिषद्बाट स्वीकृती भए पनि रुख कटान र जग्गा उपयोग हुन नसक्दा आयोजना अन्योलग्रस्त अवस्थामा थियो । तर, अहिले स्थानिय सरकारको समन्वयमा आयोजना क्षेत्रमा पर्ने रुख कटान थालिएको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए । दानादेखि खुर्कोट खण्डमा १ सय १० ओटा टावर निर्माण गर्नुपर्छ । नेपाल विद्युत प्राधिकरण, कालीगण्डकी प्रसारण लाइन आयोजना पर्वतका अनुसार, पर्वत खण्डमा पर्ने जग्गा अधिग्रहणको काम पनि अघि बढेको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्थायी रुपमा प्राप्त हुनुपर्ने ९९२ जग्गाधनीको जग्गा सुचना प्रकाशित गरेर अधिग्रहणको काम अघि बढाएको आयोजनाले जनाएको छ । त्यसक्षेत्रमा पर्ने जग्गाधनीको घर, टहरा भए सो बापतको मुआब्जा दाबी गर्न स्थायी जग्गाधनीहरुलाइ आग्रह गरिएको प्राधिकरणले जनाएको छ । उक्त प्रसारण आयोजना तीन खण्डमा निर्माण भइरहेको छ ।
दानादेखि खुर्कोट, खुर्कोटदेखि नवलपरासी र नवलपरासीदेखि बर्दघाट गरी तीन खण्डमा छुट्याएर आयोजना निर्माण भइरहेको छ । ४२ मेगावाटको मिस्त्रीखोला, ६२ मेगावाटको निलगिरी खोला, ३८ मेगावाटको हुवाखोला जलविद्युत् आयोजना र २० मेगावाटको मोदीखोलालगायतका केही आयोजना निर्माणधीन छन् । त्यस क्षेत्रमा निर्माणधीन झन्डै ५०० मेगावाटका आयोजनाको विद्युत् यसै लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । म्याग्दी र मुस्ताङमा निर्माण भइरहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा यसै आयोजनामा जोडिनेछ ।
यता, कुश्मा—न्यु बुटवल प्रसारण लाइन खण्डको काम पनि भर्खर सुरु भएको छ । उक्त खण्डमा हाल १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सो आयोजनामा निर्माणको ठेक्का र जग्गा मुआब्जाको काम टुङ्गिएर अघि बढेको घोषले जानकारी दिए । त्यसैगरी, न्यु बुटवल—बर्दघाट प्रसारण लाइन निर्माणका लागि भर्खरै कम्पनी छनोटका लागि बोलपत्र आह्वान गरिएको छ ।
न्यु बुटवल सबस्टेसन निर्माण सम्पन्न हुन सकेको छैन । सबस्टेसनको काम ७० प्रतिशत भए पनि सम्पन्न हुन अझै एक वर्ष लाग्ने देखिन्छ । उक्त प्रसारण लाइनको समग्र प्रगति हालसम्म २० प्रतिशत छ । आयोजनाको लागत कुल ८ करोड अमेरिकी डलर अनुमान गरिएको छ ।