काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मन खोलेर लगानी गर्न गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन । गैरआवासिय नेपालीको सम्मेलन सत्रलाई सम्बोधन गर्दै उनले देशमा लगानीको वातावरण बनिसकेकाले ढुक्क हुन आग्रह गरे ।
उनले पूर्वाधार, खानी, कृषि, शिक्षा, स्वास्थ्य र जलविद्युतमा लगानी गर्न एनआरएनलाई सुझाव दिएका छन । सरकारले औद्योगिक वातावरण बनाउन र व्यवसायको सुरक्षा दिन प्रहरी राख्ने तयारी भइरहेको बताए ।
संघीयता कार्यन्वयनका क्रममा दोहरो करको समस्या विस्तारै हल हुँदै गएको उनले जानकारी दिए । देशमा औद्योगिक वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न उनको सुझाव थियो ।
अर्थमन्त्री खतिवडाले आर्थिक रूपान्तरण गर्नका लागि स्रोत र विचार प्रशोधन हुनुपर्नेमा जोड दिए । उनले हेजिङ कम्पनी खोलेर विदेशी विनिमयको जोखिम लिएर नाफा कमाउन आउन आग्रह गरे।
नेपालमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै विदेशी लगानीका उद्योगले औषतमा २५ प्रतिशत लाभांश लिइरहेको उनले जानकारी दिए।
कार्यक्रममा पुर्व अर्थ मन्त्री डा. रामशरण महतले नेपालको ग्रोथ रेट बढाउने चुनौतीपुर्ण भएको बताए । सो चुनौती पार गर्न एनआरएनले नेपालमा लगानी बढाउन सहयोग गर्नुपर्ने उनले बताए ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले संयुक्त लगानीबाट कुनै परियोजनामा लगानी गर्न सकिएमा त्यसले सकारात्मक प्रभाव पर्ने बताए । नेपालमा तीन तहको सरकार बनिसकेको र हरेक तहबाट लगानी बढाउन प्रोत्साहन भइरहेको उनको भनाई छ ।